आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ ।बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।
४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदानको कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।
रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली कांग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।
त्यसैगरी, महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अञ्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारी चौलागाईंले बताए ।