नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले विशेष महाधिवेशनको सुरु हुन दिन (पुस २७) गतेको कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन भनेका हुन् ।
‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला– सभापति पुस २७ गते उहाँ सहभागी हुनुपर्छ । उहाँको पनि मान बढाउँछ । यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ।’
उनले पार्टी विधानले विशेष महाधिवेशन माग्यो भने कसले अधिवेशन गर्ने भन्ने उल्लेख गरेको विषयमा भने, ‘४० प्रतिशतले माग्यो भने अधिवेशन माग्यो भने गर्ने । तर, कसले अधिवेशन गर्ने भन्ने लेखिएन । केन्द्रीय समितिले यस्तो गर्ला भन्ने हेक्का नहुँदा राखिएन नि ।’
संस्थापनले युवा भेलाको नाममा मुठभेड गराउन खोजेको विशेष महाधिवेशन पक्षधरको आशंका
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको औचित्य सकियो भनेर संस्थापन पक्षले आदेश गरेको भन्दै आपत्ति जनाएको छ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता अजयबाबु शिवाकोटीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको महाधिवेशनमा सहभागी हुन आह्वान गरे।
उनले विशेष महाधिवेशनकै दिन संस्थापन पक्षले युवा भेला राखेर कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गराउन खोजेको आरोप लगाए। उनले भने, ‘केन्द्रीय समितिको नाममा युवा भेला गरिँदै छ। केन्द्रीय कार्यालयमा हामी चाहन्छौँ, विशेष महाधिवेशनको उद्घाटनमा पार्टी सभापति स्वयम् (कार्यवाहक सभापति) आएर मन्तव्य दिनुहुनेछ। तर युवा भेलाको नाममा युवाहरूलाई जम्मा गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको राजनीतितर्फ लैजाने प्रयास भएको आशंका छ।’
निकटस्थ पदाधिकारीसँग देउवाले भने– विशेष महाधिवेशनले पार्टी फुट्छ, यसलाई रोकौँ
विशेष महाधिवेशनका लागि तयारी तीव्र हुँदै गर्दा सभापति शेरबहादुर देउवाले बिहीबार बिहान निकटस्थ पदाधिकारी र नेता डा। शेखर कोइरालासँग बेग्लाबेग्लै छलफल गरेका थिए । देउवाले विशेष महाधिवेशन नरोके पार्टी विभाजन हुने भन्दै सहमतिका लागि मिलनविन्दु खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालासँग आग्रह गरेका थिए ।
‘जे–जसरी हुन्छ, सहमतिका लागि प्रयास गरौँ । विशेष महाधिवेशन रोकौँ । यसले पार्टी फुट्छ,’ सभापति देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘मैले सभापति छाडेर कार्यवाहक दिइसकेको छु । अरू मैले के त्याग गर्नुपर्ने हो, म तयार छु । विशेष महाधिवेशन रोकेर पार्टी फुट बचाउनुपर्यो ।’ कोइरालाले भने विशेष महाधिवेशनको आवाजलाई सम्बोधन गर्न र उनीहरूसँग छलफल गरेर सहमति खोज्न अनुरोध गरेको उनी निकटस्थ नेताले जानकारी दिए ।
प्रवक्ता डा.प्रकाशशरण महतले सभापति देउवालाई भेट्न नेताहरू गएको र उनले सबैको कुरा सुनेको बताए । ‘नेताहरू सभापतिलाई भेट्न जानुभएको हो । उहाँले सबैको कुरा सुन्नुभयो, पार्टीको दैनिक कामकाज कार्यवाहक सभापतिले गरिरहनुभएकै छ,’ महतले भने, ‘उहाँलाई पार्टीका गतिविधिबारे ब्रिफिङ गर्न नेताहरू जानुहुन्छ, हामी जान्छौँ । योभन्दा अरू केही होइन ।’