युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘कार्यक्रम मिति र मोडालिटी नै तय भइनसकेको कार्यक्रममा सहभागी हुन’ भन्दै अमेरिका जान लागेको खुलेको छ । विवादित गैरआवासीय नेपाली संघ अमेरिकाको निम्तोमा अमेरिका जान लागेको भनिएका गुप्ता सहभागी हुने कार्यक्रम हालसम्म ‘तय नभएको’ आयोजकले नै स्वीकार गरेको छ ।
विवादित आयोजक भन्छ– मिति र तालिका तय छैन
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिका उड्न लागेका मन्त्री गुप्ता ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने आयोजकको दाबी छ । अमेरिकाबाट बिहीबार विज्ञप्ति जारी गर्दै विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए अमेरिका प्रवक्ता द्रोण गौतमले ‘अमेरिकाको डालसमा कार्यक्रम आयोजना गर्ने भनिएको तर विस्तृत विवरण र सेड्युल तयार नभएको’ बताएका छन् ।
विज्ञप्तिमा उनले ‘मन्त्रीको खर्च आयोजकले नै व्यहोर्ने’ पनि लेखेका छन् । ‘कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ । जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौं, माननीय मन्त्रीज्यूको कार्यतालिकाअनुसार टेक्सासको डालसमा आयोजना गरिने भनिएको सो कार्यक्रमको विस्तृत विवरण, सेड्युल अन्तिम भएपछि सार्वजनिक गरिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।
आयोजकले विज्ञप्तिमार्फत ‘कार्यक्रम कहिले हुने ?’ भन्ने विषयमा केही उल्लेख गरेको छैन । तर, मन्त्री गुप्ताले भने ‘आगामी ३ माघमा आयोजना हुने कार्यक्रममा सहभागी हुने’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकबाट भ्रमण स्वीकृत गराएका छन् । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा भने यो कार्यक्रम कतै उल्लेख छैन । विवादमा परेपछि मन्त्री गुप्ताले विवादित एनआएनए अमेरिकालाई विज्ञप्ति जारी गर्न लगाएर कमजोरी ढाकछोप गर्न खोजका छन् ।
एनआरएनए अमेरिकामा विवादपछि दुई समिति अस्तित्वमा छन् । संस्थापक संलग्न एउटा संघको नेतृत्व अर्जुन बञ्जाडे र अर्को संघको नेतृत्व उप्रेतीले गरेका छन् । उप्रेतीको संस्थाका अध्यक्षलगायत पदाधिकारी भने टेक्सासमै बसोबास गर्ने छन् ।
गुप्ता सहभागी हुने भनिएको तर मिति नै तय नभएको कार्यक्रम पनि टेक्ससको डालसमा हुने भनिएको छ । उप्रेती नेतृत्वको एक संघ पदाधिकारीका अनुसार कार्यक्रम विषयमा समितिमा छलफल भएको र छलफलले मन्त्री गुप्ताको समयअनुसार कार्यक्रम तय गर्ने सहमति बनेको हो । उनका अनुसार अहिलेसम्म आयोजकले कार्यक्रमको मिति तय गरेको छैन ।
‘नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाएर मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु पदीय दुरुपयोग भएको’ भन्दै चौतर्फी विरोध जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ‘ध्यानाकर्षण भएको’ बताएकी छन् ।
सदाचार नीतिविपरीत जबर्जस्ती अमेरिका जाने प्रयास
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले स्वीकृत गराएको अमेरिका भ्रमण सरकारको सदाचार नीतिविपरीत छ । गत ५ असोजमा मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै सार्वजनिक गरेको सदाचार नीतिमा राष्ट्रका लागि अत्यावश्यकबाहेक कुनै पनि विदेश भ्रमण नगर्ने उल्लेख छ । आयोजक र कार्यक्रमको अस्तित्वकै विषय विवादमा रहने यो भ्रमण ‘कसरी अत्यावश्यक भयो ?’ भन्ने विषय पुष्टि हुन नसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी बताउँछन् ।
‘सरकारले पारित गरेको सदाचार नीतिले अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने भनेको समय सम्बन्धित देशको सरकार वा कुनै आधिकारिक निकायबाट आएको औपचारिक निम्तो नभई अनौपचारिक प्रकृतिको भ्रमणमा मन्त्रीको हैसियतमा सहभागी हुनु गैरकानुनीसँगै नैतिक हिसाबले पनि गलत हो,’ ती कर्मचारी भन्छन् ।
भ्रमण गृहमन्त्रीलाई अध्यागमनद्वारा ध्यानाकर्षण
मन्त्री गुप्ता सहभागी हुने भनिएको अमेरिकाको कार्यक्रमका लागि नेपालबाट अरु व्यक्ति पनि सहभागी हुन लागेको आशंकामा अध्यागमन विभागदेखि गृह मन्त्रालयसम्मले चासो देखाएका छन् । अध्यागमन अधिकारीले सम्भावित कार्यक्रम र त्यसमा सहभागी हुने भनिएका व्यक्ति’दयगत चासो लिन गृहमन्त्री ओमप्रकाश अर्यालसम्मको ध्यानाकर्षण गराएका छन् ।