भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ ।बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भए पनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ ।
नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।महाधिवेशन सोमबारसम्म चल्नेछ ।
विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट
पाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् ।विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ ।
सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ । आज बन्दसत्र सुरु गरिनेछ । महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
यस्तो छ जुलुस निस्कने रुट
रुट नम्बर १
जम्मा हुने स्थान ः सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरूका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन् । काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन् ।
यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।
रुट नम्बर २
जम्मा हुने स्थान ः रत्नपार्क
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी भाग तथा काठमाडौंको क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुनेछन् ।
रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्नेछ ।
रुट नम्बर ३
जम्मा हुने स्थान ः पद्मकन्या क्याम्पस
पद्मकन्या क्याम्पसबाट आउने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौंका ५, ६ र ७ का सबै नेता–कार्यकर्ता यो जुलुसमा सहभागी हुनेछन् ।
यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ४
जम्मा हुने स्थान ः शंकरदेव क्याम्पस
यो रुटको जुलसका लागि पुतलीसडकस्थित पद्मोदय–शंकरदेव क्याम्पसलाई जम्मा हुने स्थान तोकिएको छ । भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका नेता–कार्यकर्ता यो जुलसमा सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
रुट नम्बर ५
जम्मा हुने स्थान ः कमलपोखरी
यो रुटमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नेता–कार्यकर्ता यहाँ जम्मा भई कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन् ।
रुट नम्बर ६
जम्मा हुने स्थान ः कुपण्डोल
ललितपुरको कुपन्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका सहभागीको सहभागिता रहने नेता केसीले जानकारी दिए ।
कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै यो जुलुस भृकुटीमण्डप प्रवेश गर्नेछ ।