spot_img

नयाँ भनिएकाे दल रास्वपामा फुटकाे श्रृङ्खला शुरूःकुलमानले सहमति लत्याएकाे आराेप,भागडबन्डा धेरै खाेजेकाे रास्वपाकाे आराेप

spot_img

कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसिङले पार्टीको नाम, पदाधिकारी–केन्द्रीय सदस्य र समानुपातिक–प्रत्यक्ष सांसदतिर धेरै संख्या मागेपछि रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा)को एकता सम्झौता १२ दिनमै भंग हुने अवस्थामा पुगेको हो ।

१४ पुसमा भएको एकीकरणसम्बन्धी सातबुँदे सहमति शनिबार भंग भएसँगै दुवै पार्टीले आ–आफ्ना राजनीतिक कदम अगाडि बढाएका छन् । रास्वपा सचिवालय बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय लिएको छ भने उनेपाको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा ‘चिम’ चुनाव चिह्नमा भाग लिने निर्णय गरेको छ ।

सहमतिभन्दा धेरै माग गरेकाले एकता भाँडिएको रास्वपाको दाबी छ भने घिसिङले सहमति कार्यान्वयनका नाममा अल्झाइएकाले बाध्यात्मक कदम चालिएको बताएका छन् । पार्टी एकताको सम्झौता हुँदा उज्यालो नेपालका संरक्षक रहेका घिसिङ सम्झौता भंग भएको दिनै शनिबार केन्द्रीय समिति बैठकबाट अध्यक्षमा चयन भएका छन् ।

रास्वपा प्रवक्ता मनीष झाले सचिवालय बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको बताए । उनका अनुसार सुरुदेखि नै समानुपातिक सूची र सिट बाँडफाँटमा मर्मविपरीत अभ्यास देखिएपछि समस्या भएको हो । ‘सहकार्य गरेर सँगै अगाडि बढ्ने अभिप्रायले सहमति गरेका थियौँ । सुरुमै हाम्रो मर्मविपरीत उहाँहरूले समानुपातिक सूचीमा फरक अभ्यास गरिदिनुभयो । ससुरा, भान्जा, छिमेकी सिफारिस भयो । त्यसबाट मूल्य चुकाउनुप¥यो,’ झाले भने, ‘त्यसमाथि उहाँले यति जना कन्फर्म हुनुपर्छ भन्नुभयो । चुनाव भएकै छैन, हामीले कसरी त्यो ग्यारेन्टी गर्न सक्छौँ ? प्रत्यक्षमा पनि सत्ता बाँडफाँटको कुरा अहिलेदेखि गर्न थाल्नुभयो । हामीले बालेन शाहलाई प्रधानमन्त्री प्रस्ताव गरेका छौँ, बाँकी निर्वाचन परिणामपछि छलफलको कुरा हो ।’

बैठकमा सभापति रवि लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता जोगाउन नसकिएको ब्रिफिङ गरेका थिए । ‘पार्टी एकता बचाउन अधिकतम लचकता अपनाएको हुँ । तर, उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

रास्वपा नेताहरूका अनुसार घिसिङले पार्टीको नाममा ‘उज्यालो’ थप्नुपर्ने, प्रत्यक्ष निर्वाचन क्षेत्र तोकेर दिनुपर्ने तथा वरिष्ठ उपसभापति र महामन्त्री पाउनुपर्ने माग राखेका थिए । ‘अहिले नै सिट तोकेर भागबन्डा गर्नु उपयुक्त हुँदैन,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक नेताले भने । रास्वपाको पछिल्लो बैठकले एक महामन्त्री पद थपेर बालेन शाह समूहलाई दिने निर्णय भएको थियो ।

सुरुको सहमतिअनुसार उज्यालो नेपाल समूहले पहिलो वरीयताको उपसभापति, २१ केन्द्रीय सदस्य, १८ समानुपातिक उम्मेदवार पाउने सहमति भएको थियो । तर, सचिवालयसहित सबै कमिटीमा ३० प्रतिशत हिस्सा, पार्टीको नाममा उज्यालो थप्नुपर्ने, बन्दसूचीमा ६ जना निर्वाचित हुने गरी राख्नुपर्नेलगायत माग राखेपछि समायोजन कठिन भएको रास्वपा नेता असीम शाहले बताए । ‘मागहरू थपिँदै जाने, वार्तामाथि वार्ता हुँदै जाने कुराले लिंगरिङ मात्र भयो । अब च्याप्टर क्लोज भयो,’ उनले भने ।

रास्वपासँगको सहमतिमा घिसिङ पहिलो वरीयताको उपसभापति बन्न तयार भएका थिए । ठोस सहमति गर्ने भन्दै लामिछाने र घिसिङबिच शुक्रबार र शनिबार पनि छलफल भएको थियो । लगातार पेल्ने नीति, समानुपातिकमा विभेद, संंख्या कटौती, नाममा उज्यालो थप्ने प्रस्ताव अस्वीकार गरेपछि सँगै जान नसकिएको उनेपाको भनाइ छ ।

सहमति भंग भएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफूले कुनै ठुलो पदका लागि बार्गेनिङ नगरेको दाबी गरेका छन् । ‘म त रास्वपाको साधारण सदस्य भएर बस्नसमेत तयार थिएँ । तर, हाम्रो केन्द्रीय समितिका साथीहरूको समायोजन हुनुपर्ने कुरा राख्दा पनि सहमति कार्यान्वयन भएन,’ शनिबार साँझ त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने ।

संविधानका आधारभूत विषयमा सहमति कायम गर्न पूरक सम्झौता गरौँ भन्दा पनि रास्वपाले नमानेको र उसले एकतर्फी सहमति तोडेको घिसिङको भनाइ छ । ‘१२ दिन अत्यन्तै पीडादायक रह्यो । यो अवधिमा उज्यालो नेपालका सदस्य र शुभेच्छुक साथीहरूले धेरै पीडा बेहोर्नुपरेको छ । उनीहरूले हामीलाई सहमति कार्यान्वयनको प्रक्रियामा इन्गेज गराएर ठाउँ–ठाउँमा पार्टी प्रवेशका कार्यक्रम राखे,’ उनले भने, ‘हामी जेन–जी आन्दोलनले चाहेको नयाँ शक्ति सम्बोधन गर्न सकभर सहमति कार्यान्वयन होस् भन्नेमा थियौँ । चुनावका वेला लामो समय इन्गेज गरेर बस्दा उज्यालो नेपाल पार्टीलाई ठुलो क्षति भएको छ ।’

देशको परिस्थिति, जेन–जी युवाको भावना र सम्पूर्ण नेपाली जनताको भावना र आकांक्षाअनुसार नयाँ भनिएका शक्ति एक हुनुपर्छ भनेर सम्पूर्ण कुरा त्यागेर रास्वपासँग सहमति गरेको उनले स्मरण गरेका छन् । तर, सहमति कार्यान्वयन नगरी रास्वपाले एकतर्फी रूपमा भंग गरेको उनको दाबी छ । ‘पटक–पटक छलफल हुँदा पनि सहमति कार्यान्वयन भएन । हीनताबोधका साथ अगाडि बढ्नुपर्ने अवस्था आयो । लिखितमा नभएका सहमति पनि धेरै थिए,’ उनले भने, ‘हाम्रो साथीहरूले कुनै ठुलो डिमान्ड राखेको थिएन । मिडियामा धेरै बार्गेनिङ गरेको कुरा आएको छ, त्यो गलत हो । वरीयतामा धेरै तल भएर पनि सहेर सहमति गरेका थियौँ ।’

उनले लचक हुँदा कमजोरी ठानिएको गुनासो गर्दै सहमति भंग हुँदा मर्माहत भएको बताए । ‘सुशासन र समृद्धिको विषय उठाएर जेन–जी आन्दोलन भयो । त्यसलाई सम्बोधन गर्न वैकल्पिक शक्ति सबै एक हुनुपर्छ भन्ने सुरुदेखिकै हाम्रो धारणा थियो । मैले प्रधानमन्त्री मागेको थिइनँ, पार्टी अध्यक्ष पनि मागेको थिइनँ,’ उनले भने, ‘सहमति ब्रेक गर्नुभयो । १२ दिनसम्म लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हाम्रो त्यागलाई कमजोरी ठानियो । म अत्यन्त मर्माहत भएको छु । यो अवस्था आउँछ भन्ने लागेको थिएन ।’

घिसिङले उज्यालो नेपाल पार्टीको सदस्यता शनिबार मात्रै लिएको र आफूलाई केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको बताए । ‘आज उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु र आजै उज्यालो नेपाल पार्टीको अध्यक्ष चयन भएको छु,’ घिसिङले भने, ‘पार्टीलाई देशव्यापी रूपमा प्रभावकारी रूपमा अगाडि बढाउनेछु ।’ उनले प्रत्येक घरमा बत्ती पु¥याएको भन्दै देश र जनताको पक्षमा काम गर्न एकपटक निर्वाचनमा जिताउने आह्वान पनि गरे ।

रास्वपासँग एकताको सहमतिपछि उनेपाले समानुपातिक बन्दसूची बुझाएको छैन । यसमा अध्यक्ष घिसिङले समानुपातिकका विषयमा नयाँ ढंगले सोच्ने बताए । ‘हामी जसरी पनि व्यवस्थापन गर्छौँ । भएन भने प्रत्यक्ष मात्रै भए पनि लड्छौँ,’ उनले भने ।

यस्तै, घिसिङले गठबन्धनको विकल्प खुला राखेको पनि सुनाए । ‘सबैसँग गठबन्धनको विकल्प खुला छ । कुनै आग्रह–पूर्वाग्रह छैन । रास्वपासँग पनि गठबन्धन हुन सक्छ,’ घिसिङले भने ।

कुलमान उज्यालोका अध्यक्ष
रास्वपासँगको एकता भाँडिएसँगै उनेपाले कुलमान घिसिङलाई अध्यक्ष चयन गरेको छ । त्रिपुरेश्वरस्थित उज्यालो घरमा बसेको केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उक्त बैठकमा अध्यक्ष अनुप उपाध्यायले व्यक्तिगत कारण देखाएर अध्यक्षबाट राजीनामा दिएका थिए । बैठकले लगत्तै कुलमानलाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो । निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो । कुलमान अध्यक्ष बनेसँगै उपाध्याय संरक्षक भएका छन् ।

सहमति कार्यान्वयनमै समस्या
उज्यालो नेपाल पार्टीसँग १४ पुसमा रास्वपाले गरेको सातबुँदे सहमतिको बुँदा नम्बर ४ मा सभापति लामिछानेपछि पहिलो वरीयताको उपसभापतिमा घिसिङ रहने भनिएको छ । बुँदा नम्बर ५ मा उज्यालो नेपालको अभियानलाई अपनत्व लिई रास्वपाको कर्यक्रमसँग जोड्दै एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।

त्यसअघि १३ पुसमा रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबिच सातबुँदे सहमति भएको थियो । सहमतिअनुसार बालेन समूहको व्यवस्थापन भइसकेको छ । तर, कुलमान समूहको व्यवस्थापन हुन सकेन ।

व्यवस्थापनका लागि रास्वपा केन्द्रीय समितिले १९ पुसमा एकता र पार्टी समायोजनलाई सहजीकरण र निष्कर्षमा पु¥याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरेको थियो । सातबुँदे सहमतिअनुसार समायोजन टुंग्याउन शीर्ष तहमा पनि नेताहरूबिच संवाद भएको थियो ।

बालेन र कुलमान समूहको समायोजनका लागि १९ पुसको केन्द्रीय समितिले पदाधिकारी थप्ने निर्णय गरेको थियो । जसमा दुई उपसभापति (एक महिला), एक–एक महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता थपिएको थियो । थपिएको पदाधिकारीमा उपसभापति घिसिङ, महिला उपसभापति (नटुंगिएको), महामन्त्री बालेन समूहका सुनील लम्साल, सहमहामन्त्री र सहप्रवक्ता उज्यालो नेपाल समूहको नाममा परेको थियो । उज्यालो नेपालबाट जितराम लामा सहमहामन्त्री र राजु थापा सहप्रवक्ताका लागि चर्चामा थिए । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई रास्वपाको संघीय सल्लाहकार परिषद् अध्यक्ष बनाउने तयारी थियो ।

रास्वपाको केन्द्रीय समिति पनि विस्तार गरिएको थियो । जसमा सातजना विवेकशील साझाबाट र २६ जना बालेन समूहबाट भनिएको थियो । कुल ३३ केन्द्रीय सदस्य पद थपिएको थियो । तर, बालेन समूहले भने आफ्नोतर्फबाट १३ जना मात्रै केन्द्रीय सदस्य बनेको बताएको छ । जेन–जी समूह र घाइतेका तर्फबाट ११ जना र हाम्रो नेपाल पार्टीका तर्फबाट खगेन्द्र सुनारसहित २६ जना थपिएको नेताहरू बताउँछन् ।

बालेन समूहको पदाधिकारी र केन्द्रीय समितिमा टुंगिए पनि कुलमान समूहको केन्द्रीय समितिमा कति उपस्थिति हुने भन्ने विवाद थियो । बालेन समूहले २६ जना पाएको भन्दै आफूहरूले बढी पाउनुपर्ने माग कुलमान समूहको छ । सुरुमा उज्यालो नेपाल समूहले २१ केन्द्रीय सदस्य पाउने समझदारी बनेको थियो । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img