नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो ।बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।
प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ ।
विशेषतिर बहुमत
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनमा कुल प्रतिनिधिमध्ये ५६ प्रतिशतभन्दा बढीले उपस्थित भएर हस्ताक्षर गरेको दाबी, विशेष महाधिवेशनको वैधानिकता र दाबी संख्या दुवै गलत भएको संस्थापनको टिप्पणी
संस्थापन पक्षको असहमतिबिच आह्वान गरिएको कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशनमा कुल प्रतिनिधिमध्ये ५६ प्रतिशतभन्दा बढीले उपस्थित भएर हस्ताक्षर गरेको पक्षधरको दाबी रहे पनि स्वतन्त्र पुष्टि भएको छैन । आइतबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन भएको विशेष महाधिवेशनमा सहभागी संख्या अझै बढ्ने दाबी आयोजक पक्षको छ । संस्थापन पक्षले भने विशेष महाधिवेशन वैधानिकता र दाबी गरिएको संख्या दुवै गलत भएको टिप्पणी गरेको छ । यस्तै दाबी कायम रहे कांग्रेस वैधताको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्ने सम्भावना छ ।
कांग्रेसका कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ६६२ जनाले हस्ताक्षर गरिसकेको विशेष महाधिवेशन सचिवालयका सदस्य युवराज पाण्डेयले बताए । उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्कतर्फबाट १९५ प्रतिनिधि सहभागी भएका छन् । सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु हुने र प्रदेश तथा भ्रातृ–शुभेच्छुक संगठनअनुसार छुट्टाछुट्टै दर्ता स्थल राखिएको पाण्डेयले बताए ।
यसअघि गत २९ असोजमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । तर, संस्थापन पक्षले प्रक्रिया अघि नबढाएपछि महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आह्वान गरिएको हो । आइतबार उद्घाटन सत्र सम्पन्न भएको छ भने सोमबार बन्दसत्र हुने कार्यक्रम छ ।
उद्घाटन सत्रमा यसअघि संस्थापन पक्षमा रहेका केही नेताहरूको समेत सहभागिता रहेको छ । पदाधिकारीतर्फ महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । तर, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठ भने विशेष महाधिवेशनमा गएनन् ।विशेष महाधिवेशनमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, विनोद चौधरी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही, उदयशमशेर राणा, अजयबाबु सिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला संग्रौला, पुष्पा भुसाल, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्र राय, चीनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार, नानु बाँस्तोला, योगेन्द्र चौधरीलगायत नेता विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
कसले के भने ?
कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनभन्दा ठुलो केही नभएको भन्दै महाधिवेशनले चाहे नीति र नेता बदल्ने संकेत गरेका छन् । महाधिवेशन उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थापाले भने, ‘कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठुलो केही होइन । महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, नेतृत्व पनि बदल्छ र विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’ उनले सोमबार बन्दसत्रमा सभापति, कार्यवाहक सभापतिलगायतका नेताहरू पनि उपस्थित हुने विश्वास राखे । ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने–नआउने उहाँहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो, निर्णय गर्ने तपाईंहरूको मर्जी,’ थापाले भने । थापाले नीति र नेतृत्व परिवर्तनको विषय उठाउँदा उद्घाटनस्थल तालीले गुन्जिएको थियो ।
कांग्रेसलाई ठिक ठाउँमा उभ्याउनका लागि आफूहरू लागेको उनले जिकिर गरे । कांग्रेस ठिक ठाउँमा रहँदा मात्रै देशप्रतिको जिम्मेवारी पूरा गर्न सकिने उनले बताए । थापाले आफ्नो शरीरमा बिपी कोइराला र गणेशमान सिंहको रगत नबगे पनि उनीहरूको विचार र साहस रहेको बताए । ‘म बिपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन । मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन । तर, मसँग बिपीको विचार र गणेशमानको साहस छ,’ कांग्रेसमा संस्थापनतिर देखिएका नेतापुत्रलाई लक्षित गर्दै उनले भने ।
राजाको छोरा राजा हुने व्यवस्था फाले पनि नेताको छोरा नेता हुने स्थितिले जनता रिसाएको पनि बताए । ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् । र, आमनागरिकको त्यो रिस जेन–जी आन्दोलनका क्रममा सडकमा पोखिएको हो,’ थापाले भने, ‘जनता हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन् ।’
उद्घाटन सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले गर्ने निर्णय नै कांग्रेसको आगामी बाटो हुने दाबी गरे । उनले कांग्रेस विभाजन गर्ने नभई सिंगो कांग्रेससहित देशको नेतृत्व गर्ने गरी अगाडि बढ्ने बताए । ‘विशेष महाधिवेशनबाट नयाँ पार्टी बन्छ भन्ने प्रश्न पनि छ । हामी जन्मिँदा कांग्रेस थियौँ, मर्दा पनि कांग्रेस भएर मर्न चाहन्छौँ । कांग्रेसलाई विभाजन गर्ने होइन, टुक्र्याएर होइन, सिंगो कांग्रेससहित सिंगो देशको नेतृत्व गर्ने गरी अगाडि बढ्छौँ,’ महामन्त्री शर्माले भने, ‘विशेष महाधिवेशनले जे निर्णय लिनेछ, त्यही निर्णय नै कांग्रेसको आगामी दिनको बाटो हुनेछ ।’
नेता प्रदीप पौडेलले विधानलाई केन्द्रीय समितिले नभई विधानले पार्टीका सबै संरचनालाई निर्देशित गर्ने बताए । नेतृत्व रक्षाका निम्ति कांग्रेसको भविष्य समाप्त पार्ने कि कांग्रेसको रक्षाका निम्ति नेतृत्व फेर्ने भन्ने विषय मुख्य भएको उनले बताए । ‘विशेष महाधिवेशन विधानले निर्देशित गरेको विषय हो । विधानलाई केन्द्रीय समितिले निर्देशित गर्न सक्दैन ।
कांग्रेसका सबै संरचनालाई विधानले निर्देशित गर्न सक्छ । नेतृत्व रक्षाका निम्ति कांग्रेसको भविष्य समाप्त पार्ने कि कांग्रेसको रक्षाका निम्ति नेतृत्व फेर्ने ?’ उनले भने, ‘कांग्रेस सच्चिएर आयो भन्ने सन्देश महाधिवेशनले दिनुपर्छ ।’संस्थापन पक्षकी केन्द्रीय सदस्य पुष्पा भुसालले निर्वाचनअघि नै महाधिवेशन गर्न संस्थापन पक्षलाई आग्रह गर्दा पनि नमानेपछि निराश भएर फर्किनुपरेको बताइन् । विशेष महाधिवेशन सफल पार्न आफूसहित ३० जना संस्थापन पक्षका नेता सहभागी भएको उनले बताइन् । केन्द्रीय सदस्य विनोद चौधरीले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ नेतृत्वका साथ अगािड बढाउन आग्रह गरे । ‘दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु, तपाईंहरू अगाडि बढ्नुस्, अधुरो ठाउँमा नछाड्नुस् । कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ नेतृत्व दिनुस् ।’
पूर्वउपसभापति गोपालमान श्रेष्ठले इतिहासको ब्याज मात्रै खाएर अब भविष्य नचल्ने बताए । शैली बदलेर युवालाई अगाडि सार्नुपर्ने उनले बताए । नेता डा. शेखर कोइरालानिकट नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विशेष महाधिवेशनमा नआउनेलाई पनि कांग्रेसले समेटेर अगाडि बढ्ने बताए । नेता कोइरालाको सन्देश लिएर आफू विशेष महाधिवेशनमा सहभागी भएको उनको दाबी छ ।
गगन थापा, महामन्त्री
कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठुलो केही होइन । महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, नेतृत्व पनि बदल्छ र विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो । भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने–नआउने उहाँहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो, निर्णय गर्ने तपाईंहरूको मर्जी । म बिपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन । मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन । तर, मसँग बिपीको विचार र गणेशमानको साहस छ । राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् ।
विश्वप्रकाश शर्मा, महामन्त्री
विशेष महाधिवेशनबाट नयाँ पार्टी बन्छ भन्ने प्रश्न पनि छ । हामी जन्मिँदा कांग्रेस थियौँ, मर्दा पनि कांग्रेस भएर मर्न चाहन्छौँ । कांग्रेसलाई विभाजन गर्ने होइन, टुक्र्याएर होइन, सिंगो कांग्रेससहित सिंगो देशको नेतृत्व गर्ने गरी अगाडि बढ्छौँ । विशेष महाधिवेशनले जे निर्णय लिनेछ, त्यही निर्णय नै कांग्रेसको आगामी दिनको बाटो हुनेछ । नयाँ पत्रिकामा खवर छ।