नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदै छ।काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हो।महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ।
आज बन्दसत्रको सुरुमा विशेष महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीति मन्थन हुनेछ।चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत् छलफल हुनेछ यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए। नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।
यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरू आज बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो।