काठमाडौँ , नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका हेरफेर भएको छ।विशेष महाधिवेशन निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको समय तोकिएको छ। नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बिहान मात्रै हुने भएको छ।
यसअघि सार्वजनिक कार्यतालिकामा दिउँसो २ देखि ३ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो। तर पछि समितिले ५ बजेपछि मात्रै मनोनयन दर्ता गरिने जानकारी गराएको थियो। उक्त तालिकामा पुनः हेरफेर गर्दै साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गराइसक्नुपर्ने समितिले जनाएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार आजै राति ९ बजेदेखि मतदान हुने भनिएको थियो।
विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता चलिरहेकोले मतदान भोलिका लागि सारिएको हो। वार्तामा सहमति नजुटेमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।