श्रमको खोजीमा कालापहाड पुगेका सल्यानका दुई परिवार उत्तै अस्ताएका छन् । रोजगारीका लागि भारत जानुलाई ‘कालापहाड’ भन्ने गरिन्छ । भारत, हिमाचल राज्यको सोलान जिल्लाको अर्की बजारमा २७ पुस राति आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा रोजगारीका लागि पुगेका र उनका सन्तानसहित नौजनाको ज्यान गएको हो । घटनामा ज्यान गुमाउनेहरू सिद्धकुमाख गाउँपालिका– २, टाकुराका दुई घरका हुन् । अर्कीमा रहेका टाकुराका प्रेम विकले टाकुराकी वडासदस्यसमेत रहेकी श्रीमती लक्ष्मीलाई घटनाबारे जानकारी गराएपछि सिंगो गाउँ शोकमा डुबेको छ । शिद्धमाख गाउँपालिकाले टाकुरा वडामा शोक विदासमेत दियो ।
घटना भएको क्षेत्रमा रहेका कालीबहादुर विसीका अनुसार टाकुराका ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाका छोरा राजनसहित परिवारै उजाडिएको छ ।
त्यस्तै, ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकले ज्यान गुमाएका हुन् । काशीरामका ११ वर्षीय छोरा अभिषेक भने हजुरआमासँग सल्यानमै छन् । धनबहादुर कालीबहादुरका फूपुका छोरा र काशिराम ठुलीआमाका छोरा हुन् । ‘अहिलेसम्म सातजनाको क्षतविक्षत भएको शव फेला परेको छ । पूर्ण शरीर भएको शव एउटै छैन । कसको शवको टुक्रा कसको हो, छुट्याउन नसक्ने अवस्था छ,’ कालीबहादुरले टेलिफोनमा सुनाए, ‘सुरक्षाकर्मीले घटनास्थलमा घेरबार गरेर राखेको छ ।’
धनबहादुर र काशीरामको परिवार पसल रहेको घरको माथिको कोठामा बस्थे, जुन घरमा राति आगलागी भएको हो । काशीराम र धनबहादुर परिवारसहित दुई वर्र्षदेखि मजदुरी गर्दै आएका थिए ।
कालीबहादुरका अनुसार आइतबार राति करिब २ बजेतिर नजिकै (५ मिनेटको दुरीमा) रहेको एक पसलमा आगो लागेको खबर आएपछि उनी उठेर घटनास्थल पुगे । ‘आगलागी भएको घरमा बस्दै आएका आफन्तले फोन गरेपछि घटना थाहा पाएको हुँ । म घटनास्थल नजिकै पुग्दा समेत पसलमा मात्र आगो लागि रहेको थियो । आगलागी भएको ठाउँमा कसैलाई जान दिएको थिइन । आगो लागेका केही समयमा नै पसलमा रहेका ग्यास सिलिन्डर पट्किन थाले । सिलिन्डर पट्किन थालेपछि हामी जम्मा भएका केही पर सुरक्षित स्थानमा गयौं,’ उनले सुनाए ।
ग्यास सिलिन्डर विस्फोट पनि आगो निभाउन आएको दमकल र प्रहरीले नियन्त्रणमा लिन सक्ने अवस्था थिएन । ‘आगो ठूलो भएको र अरु ग्यास सिलिन्डर पनि छन् की भन्ने डरले कसैले केही गर्न सकेन । रातभर हेरेर बस्ने बाहेक अर्को विकल्प रहेन । सोमबार बिहान दमकलले आगो निभायो,’ उनले भने ।
सन्ततीको सपनासँगै विलिन भयो सपना
घरको काइलो सन्तानकोरुपमा रहेका काशिरामको एक छोराबाहेक सबै परिवार उजाडिएको छ । हजुरआमासँग सल्यानमै बसेकाले उनको ज्यान बचेको हो । कमाई कमाई गरेर ल्याउन र साहु ऋण तिरौला भनेको परिवार छोरा बुहारी नाति नातिनीको मृत्यु हुँदा सबै सपना सपनामा नै सिमित भएको आमा बुरासी कामीले गहभरी आँशु पार्दै बताइन् । ‘कालापहाडबाट छोराबुहारी आलान भनेको लाश पनि आउछ, आउदैन थाहा छैन,’ उनले भनिन् ।
शोकमा डुब्यो गाउँ
विस्फोटमा परी एउटै टोलका नौ जनाको हृदयविदारक मृत्यु भएपछि यतिबेला सिद्ध कुमाख गाउँपालिका शोकमा डुबेको छ । वडा सदस्य लक्ष्मी विकले स्वदेशमा रोजगारी नपाउँदा परदेशिनु पर्ने बाध्यता र मृत्युवरण गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘उत्पादन गरेको अन्नले ६ महिनासमेत खान नपुग्ने, वैकल्पिक रोजगारीको अभाव र गरिबीले थिचिएका नागरिकका लागि कालापहाड नै जीवन धान्ने अन्तिम सहारा छ,’ उनले भनिन् ।
यहाँका बासिन्दा वर्षमा दुई पटक कमाइका लागि भारत जाने गरेको स्थानीय वीरेन्द्र बुढाथोकीले बताए । असार अन्त्यतिर जानेहरू प्रायः स्याउ टिप्ने काममा पुग्छन् भने हिउँद सकिएपछि जानेहरू गोडमेल, होटल, ज्याला मजदुरीलगायत विभिन्न काममा लाग्ने गरेका छन् ।
धनबहादुरका दाइसहित छिमेकी हिँडे हिमाचल
काशीराम विकका माइला दाई, कासीरामका ११ वर्षीय छोरा र छिमेकी मंगबार हिमाचल लागेका छन् । हिमाचलमा बस्दै आएका छिमेकी घटनाबारे जानकारी गराएपछि उनीहरू गएका हुन् ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले आवश्यक समन्वय हुने बताए । गाउँपालिका अध्यक्षसँग कुराकानी भइरहेको र घटनाको वास्तविकता बुझ्ने कार्य भइरहेकाले दुतावास वा अन्य निकायसँग समन्वय नभए पनि परिवार र पालिकाले सहयोग मागेको खण्डमा सहयोग हुने उनले बताए । नयाँ पत्रिकामा खवर छ।