नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ ।
महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् । दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन् ।
केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह छन् ।
कांग्रेस परिवारवाद र गुटबन्दीबाट मुक्त भयोःसभापति गगन थापा
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए।
थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर पूरा भएको दाबी गरे। उनले भने, ‘नेपाली कांग्रेस पार्टी आजदेखि सबै खाले परिवारवादबाट मुक्त भयो। सबै गुटबाट पनि मुक्त भयो। अबदेखि कांग्रेसमा कोही ६० पनि छैन। कोही ४० पनि छैन। हामी सबै एउटै हो। यहाँ कसैले कसैलाई चिन्दैनन्। गुटहरू मासियोस् भन्ने कुरा जुन तपाईंहरूले चाहनुभएको थियो, त्यही कुरा आज हामीले पूरा गरेका छौँ।’ सभापति थापाले पार्टीलाई एकतावद्ध बनाउँदै सबै नागरिकको आफ्नो पार्टी बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाए।
नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए। महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी सभापतिको रूपमा कांग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गरे। उनले पार्टीका सदस्यहरूको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए।
थापाले पार्टी नफुटेको स्पष्ट पार्दै कसैले पनि यस्तो कुरा नगर्न आग्रह गरे। उनले १४औं महाधिवेशनमा निवर्तमान सभापति देउवालाई चुनेका प्रतिनिधिहरूले नै आफूलाई सभापतिमा चुनेको उल्लेख गर्दै पार्टी विभाजित नभएको स्पष्ट पारे। उनले भने, ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ। यो सानो जिम्मेवारी होइन। म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ, कसैको पनि शिर झुक्न दिने छैन। नेपाली कांग्रेसको शान राख्छु।’
सभापति थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिनेमा विश्वस्त रहेको पनि बताए। उनले संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठूलो विश्वास राखेको बताए। उनले भने, ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठूलो विश्वास छ। निर्वाचन आयोगले प्रचलित कानून, पार्टी विधान र परम्परा हेर्छ। विधानमा प्रतिनिधिभन्दा माथि अरु कुनै संरचना भनेको छैन।’ थापाले सभापति देउवालाई सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने अडान दोहोर्याए।
फुटका कारक बने देउवा अनि संस्थापन पक्षहरू
आठ दशकको इतिहास बोकेको कांग्रेस तेस्रोपटक विभाजन भएको छ । दुईपटक विभाजन हुँदा शेरबहादुर देउवा नै प्रमुख कारक देखिएका छन् । पहिलोपटक कांग्रेस मातृकाप्रसाद कोइरालाका कारण विभाजित भएको थियो ।
सधैँ सत्ता र शक्तिको महत्वाकांक्षामा रमाउने देउवा प्रवृत्तिकै कारण कांग्रेस पटकपटक विभाजन हुने गरेको छ । पाँचपटकसम्म प्रधानमन्त्री बनेका देउवा सधैँ विवादमा परे । लोकतन्त्र दरबारमा बुझाउने, सुरासुन्दरी काण्डदेखि सांसद किनबेच र पजेरो सुविधा दिलाएर उनी विवादमा परेका थिए । लोकतन्त्रका साथै कांग्रेसलाई विभाजन गर्नसमेत उनको ठुलो हात रहेको विश्लेषकहरू बताउँछन् । आफ्ना कोटरीका सीमित नेताहरूकै कारण जीवनको उत्तराद्र्धमा देउवाले पदप्रति आशक्ति देखाएका छन् ।