आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको मुखमा दुई टुक्रा भएको कांग्रेसमा आधिकारिकता विवाद निर्वाचन आयोग पुगेको छ । आगामी ६ माघमा उम्मेदवार मनोनयनको कार्यतालिका रहेकाले आयोग यथाशक्य चाँडो निर्णय दिनुपर्ने दबाबमा छ । आयोगको निर्णयलाई अर्को पक्षले अदालबाट चुनौती दिन पाउँछ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन भएपछि पार्टीको आधिकारिकता विवाद औपचारिक रूपमा आयोगमा प्रवेश गरेको हो । बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनपछिका दस्ताबेज अद्यावधिक गर्ने निर्णय गरेसँगै सभापति थापासहितका नेता निर्वाचन आयोग पुगेका छन् ।
यसअघि, बुधबार शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा बुझाएको थियो । विशेष महाधिवेशन पक्षधरले यसअघि नै १६ पुस र २८ पुसमा आयोगलाई विशेष महाधिवेशनसम्बन्धी जानकारी गराइसकेका छन् ।
थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगमा आवश्यक सबै कागजात बुझाइसकेको बताए । ‘विशेष महाधिवेशनको वैधानिकता पुष्टि हुने सम्पूर्ण प्रमाणसहित दस्ताबेज बुझाएका छौँ । पार्टीका पछिल्ला निर्णय अद्यावधिक गरिदिन आग्रह गरेका छौँ,’ उनले बिहीबार नयाँ पत्रिकासँग भने, ‘एक–दुई दिनभित्रै हाम्रो विषय टुंगिन्छ भन्ने आश्वासन आयोगबाट पाएका छौँ ।’
वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा रहेका कानुनविद् टोलीको उपस्थितिमा सभापति थापाले पार्टीका पछिल्ला दस्ताबेज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका थिए । कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भई त्यसैको अधिकार प्रयोग गरेर नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको उल्लेख गर्दै दस्ताबेज तत्काल अद्यावधिक गर्न आग्रह गरिएको छ ।
तर, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिन अस्वीकार गरे । ‘आधिकारिकताको निरूपण नहुन्जेल म केही बोल्दिनँ । निर्णय भएपछि मात्र बोलिन्छ,’ नयाँ पत्रिकाको प्रश्नमा उनले भने ।
थापा समूहका केन्द्रीय सदस्य उज्ज्वल बरालका अनुसार आयोगमा विशेष महाधिवेशनको वैधानिकता, हस्ताक्षरसहितका प्रमाण र कानुनी आधार पेस गरिएको छ । ‘हामी आधिकारिक कांग्रेसको नेतृत्व हौँ भन्ने आधार र प्रमाणसहितको विवरण, विशेष महाविधेशनको वैधानिकता र हस्ताक्षरसहित कानुनी वैधताका आधारहरू आयोगमा पेस गरेका हौँ,’ केन्द्रीय सदस्य बरालले भने ।
शेखर कोइरालाको अपिलः ‘घर फर्कौँ’
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संस्थापन पक्षलाई साथ दिँदै विशेष महाधिवेशन पक्षधरलाई पार्टी एकतामा फर्किन आह्वान गरेका छन् । बिहीबार जारी अपिलमा उनले पार्टी एकताका प्रयास असफल भएको स्वीकार गर्दै सबै पक्ष जिम्मेवार रहेको उल्लेख गरेका छन् ।‘यसबिच घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिका मूल्यांकन गर्ने जिम्मेवारी इतिहासमा सुम्पन्छु । पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया रोकिने छैनन् । हामी सबै घर फर्कौँ, कांग्रेसमा फर्कौँ । यहाँ जित–हार कसैको छैन, विन–विन स्थितिमा अगाडि बढ्न सकिन्छ,’ डा. शेखरले विज्ञप्तिमार्फत भनेका छन् ।
दृश्यमा देखिएका र नदेखिएका अनेकौँ अन्तरविरोधबाट पार्टी यसबिचमा गुज्रेको उल्लेख गर्दै भनेका छन्, ‘राजधानीमा षड्यन्त्रको अनेकन राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’ तर, यसबारे उनले विस्तृतमा भनेका छैनन् ।उनले बिपी कोइरालालाई सम्झेर सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको बुझ्न सबैलाई आग्रह गरेका छन् । उनी चाँडै नै कांग्रेसको चुनावी अभियानमा सहभागी हुनेसमेत बताएका छन् ।
गगनको नेतृत्वमा घोषणापत्र निर्माण र विश्वप्रकाशको नेतृत्वमा चुनाव परिचालन समिति
विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले निर्वाचन प्रयोजनका लागि सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । संस्थापनले सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षरमा टिकट वितरण गर्दै आएको छ । राष्ट्रिय सभाको टिकटमा पनि देउवाकै हस्ताक्षर छ ।
त्यसैगरी, निर्वाचन घोषणापत्र निर्माण समिति सभापति थापाको नेतृत्वमा र निर्वाचन परिचालन समिति उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको छ । सानो आकारको संसदीय बोर्ड गठनबारे पनि छलफल भएको र शुक्रबार बस्ने बैठकले त्यसबारे निर्णय गर्ने केन्द्रीय सदस्य उज्ज्वल बरालले बताए । बैठकले देवराज चालिसेलाई पार्टी प्रवक्ता पनि नियुक्त गरेको छ ।
विशेष महाधिवेशन पक्षधर केन्द्रीय नेतृत्वले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गर्ने जनाएको छ । ‘आधिकारिकता निरूपण भएपछि हामी पार्टी कार्यालय जान्छौँ । अहिले कार्यालय नजानु विशुद्ध प्राविधिक विषय हो, राजनीतिक होइन,’ प्रवक्ता चालिसेले भने ।
नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएसँगै दुई फ्याक भएको कांग्रेसका नेता÷कार्यकर्ता पनि विभाजित भएका छन् । जिल्लादेखि केन्द्रसम्मका धेरै नेता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमै छन् भने महाधिवेशन प्रतिनिधि धेरै गगन थापाको नेतृत्वमा बनेको कांग्रेसतिर देखिएका छन् ।
कांग्रेसका कुल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४% ले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनमा ५६.१२% प्रतिनिधि सहभागी भएको दाबी यो समूहले गरेको छ । २७ पुसमा दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिमा २६ सय ६२ प्रतिनिधि सहभागी भएको उल्लेख थियो । कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ प्रतिनिधि सहभागी भएको जनाइएको थियो । त्यसपछि पनि प्रतिनिधि आउने क्रम जारी रहेकाले उपस्थित संख्या अझ धेरै रहेको यो समूहको दाबी छ ।
यता, केन्द्रदेखि जिल्लासम्मका नेता भने धेरैजसो देउवा नेतृत्वको कांग्रेसमै देखिन्छन् । १४औँ महाधिवेशनपछि बनेको १६५ सदस्यीय कार्यसमितिमध्ये तीन पदाधिकारीसहित ३४ जना मात्र विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा लागेका छन् । त्यस्तै, सात प्रदेश सभापतिमध्ये पाँच र ७७ जिल्ला कार्यसमितिमध्ये ५१ जिल्लाका सभापति देउवा नेतृत्वकै कांग्रेसमा छन् ।