काठमाडौं, नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। जारी बैठकमा फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे छलफल भइरहेको छ।बैठकमा निर्वाचनको तयारी, प्रचारप्रसार, प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो, पार्टीको आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको एमाले सचिव राजन भट्टराईले जानकारी दिए।
बैठकमा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरूले सिफारिस गरेका सम्भावित उम्मेदवारको नाममाथि छलफल भइरहेको छ। निर्वाचन आयोगले माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यतालिका प्रकाशित गरेको छ।
स्रोतका अनुसार हालसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा केन्द्रमा प्राप्त भएको छ। गत हप्ता बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।