कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण एकतासाथ निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा समूहसहित सबैमा आह्वान गरेको छ । निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको उल्लेख गर्दै बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिएको छ । संस्थापनले संसदीय बोर्डमार्फत उम्मेदवार चयनको मापदण्ड बनाउने र देउवा समूह तथा डा. शेखर कोइराला समूहलाई पनि समेटेर उम्मेदवार तय गर्नेभएको छ । ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समितिहरू र सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले बैठकपछि भने ।
बैठकले पार्टीबाट निष्क्रिय रहेका, पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा जोडिन आह्वानसमेत गरेको चालिसेले बताए । संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवालगायत नेताहरूले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पु¥याएको योगदानको उच्च कदर गरेको छ । देउवाको अभिभावकीय भूमिकाको पनि कांग्रेसले अपेक्षा गरेको चालिसेले बताए ।
मतभेद बिर्सौँ, एकता कायम गरौँःसभापति थापा
कांग्रेस सभापति गगनकुमार थापाले विगतका तिक्तता र मतभेद बिर्सेर कांग्रेसलाई बलियो बनाउन सबैलाई आह्वान गरेका छन् । ‘निर्वाचन आयोगको निर्णय लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएकाले यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । हामी पार्टीभित्रका अग्रज नेताहरूको अनुभव र नयाँ युवाहरूको ऊर्जालाई जोडेर अघि बढ्न प्रतिबद्ध छु,’ निर्वाचन आयोगले मान्यता दिएपछि आयोजित केन्द्रीय समिति बैठकअघि थापाले सञ्चारकर्मीसँग भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका पार्टीका लागि आवश्यक छ । म एक–दुई दिनभित्रै सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बताइरहेको छु । मलाई विश्वास छ, तपाईंहरूले त्यो परिस्थिति देख्न पाउनुहुनेछ ।’
उनले ६ माघसम्म प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने समयको चाप रहेको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताए । ‘आन्तरिक एकता नै अहिले पार्टीको मुख्य शक्ति हो । सभापतिज्यूले अब मुद्दा–मामिलातिर नलाग्न सबैलाई आह्वान गर्नुहोस् भन्ने हाम्रो आग्रह छ,’ थापाले भने ।
शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् ।उनी थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा लाग्ने शेखर पक्षधर नेता दिनेश कोइरालाले बताए । ‘अब शेखर दाइ अन्य समूहको बैठकमा जानुहुन्न । निर्वाचन आयोगले दिएको म्यान्डेटका आधारमा गगन थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा उहाँ लाग्नुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा स्वयं चुनाव लड्नुहुन्न,’ दिनेशले भने ।
डा. शेखरले निर्वाचन आयोगको निर्णयसँगै देउवा समूहको बैठकमा नजाने बताएका हुन् । बुधबारको सानेपा बैठकमा शेखर समूहका जीवन परियार र दिनेश कोइराला उपस्थित थिएनन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ ।
यसैबिच डा.शेखरले सडक आन्दोलनको निर्णय रोकेका छन् । सानेपामा औपचारिक बैठक बस्नुअघि उनले आफ्नो समूहका नेताहरूको बैठक राखेर विशेष महाधिवेशनको आधिकारिकतालाई कानुनी प्रक्रियाबाट हेर्ने बाटो खुला रहेको र हाल सडक आन्दोलन आत्मघाती हुने बताएका थिए ।
‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थालाई स्वीकार गरेर हामी चुनावमा जानुपर्छ । इच्छुक साथीहरूले पार्टीकै उम्मेदवारका रूपमा रुख चिह्न र चारतारे झन्डासहित निर्वाचनमा भाग लिनुपर्छ । विशेष महाधिवेशनको प्रक्रियामा न्यायिक व्याख्याका लागि अदालत जान सकिन्छ, तर वर्तमान परिस्थितिमा पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ पूर्व केन्द्रीय सदस्य दिनेशले नयाँ पत्रिकासँग भने ।
शेखरले बैठकमा विशेष महाधिवेशनमा सहभागी ५४ प्रतिशतको आधिकारिकता भेरिफाई गर्नुपर्नेमा जोड दिँदै भनेका थिए, ‘५४ प्रतिशत कसले भेरिफाई ग¥यो ? त्यसकारण न्यायिक उपचार उचित हुन्छ । तर, सडक संघर्षमा जाने वा नयाँ पार्टी खोल्ने गल्ती गर्नुहुँदैन ।’
देउवा पक्ष आज सर्वोच्च जाँदै
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो ।
मुद्दा–मामिलाको जिम्मा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । ‘आयोगको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा–मामिला एवं अन्य कानुनी काम–कारबाही गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ,’ देउवा समूहका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले भने । देउवानिकट वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतको टिमले तयार गरेको रिट आइतबार सर्वोच्चमा दर्ता गर्ने देउवा समूहको तयारी छ ।
बैठकले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरूपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित पत्राचार र बुझाइएका प्रमाणहरूलाई बेवास्ता गरिएको आरोप लगाएको छ । ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ महतले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पु¥याउने मनसाय प्रस्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’
देउवा समूहको औपचारिक बैठकअघि अनौपचारिक छलफलमा नेताहरूको मत बाझिएको थियो । ‘एकथरी साथीहरूले त अदालतको निर्णय हाम्रो पक्षमा नआउन्जेल हामी विधिवत् रूपमा निवर्तमान भएका छौँ भन्ने कुरालाई आत्मसात् गरौँ भन्नुभयो । अर्काथरीले चाहिँ निर्वाचन आयोगको निर्णयलाई नमान्ने भनिसकेपछि निवर्तमान भएका छैनौँ, अदालतले नै निर्णय गरेपछि मात्रै निवर्तमान हुन्छौँ भन्ने धारणा राख्नुभयो,’ देउवानिकट एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने ।
नेता शेखर कोइरालाले निवर्तमान कार्यवाहक सभापति खड्कासहितका नेतासँग अनौपचारिक छलफल गरेपछि खड्काले बैठकमा सडक आन्दोलनको एजेन्डा पेस गरेनन् । उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले फरक निर्णय गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका थिए । ‘कार्यवाहक सभापतिले कानुनी उपचार खोज्ने प्रस्ताव राख्नुभयो, सबैले ताली बजाएर समर्थन ग¥यौँ । आन्दोलनको कुरा आएन,’ देउवानिकट ती नेताले भने । त्यसपछि देउवा समूहले आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
कोइरालाले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस फेरि मिल्ने जिकिर गरे । ‘नेपाली कांग्रेस फेरि मिल्छ, हामीले मिलाउनुपर्छ । आपसी संवादबाट नै कांग्रेसको विवाद सल्टिने हो,’ कोइरालाले भने, ‘हामी मिलाउँछौँ ।’
कांग्रेस उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई
कांग्रेसले आगामी निर्वाचनका लागि टिकट वितरण प्रक्रियामा सहजीकरण गर्न प्रदेशस्तरीय पदाधिकारीलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सिफारिस भएका नेताहरूको समीक्षा गर्दै सबैलाई समेटेर उम्मेदवारको सूची तयार गर्न पदाधिकारीहरूलाई जिम्मा दिने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य अजय शिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘संसदीय बोर्डमा सबै पदाधिकारीहरू हुनुहुन्छ । विगतमा क्षेत्रदेखि जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामबारे समीक्षा गर्ने र सर्ट लिस्टिङका लागि सहजीकरण गर्न प्रदेशगत रूपमा पदाधिकारीलाई जिम्मा दिइएको छ ।’
कोशी प्रदेशमा उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री डिना संग्रौला पन्तलगायतलाई जिम्मा दिइएको छ । मधेश प्रदेशमा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र मुक्ता यादव, बागमतीमा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदयशमशेर राणा, सहमहामन्त्री बहादुरसिंह लामा तथा नेताहरू अर्जुननरसिंह केसी र राजन केसी, गण्डकीमा महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री योगेन्द्र चौधरी, प्रदेश सभापति अमरसिंह पुनले सहजीकरण गर्नेछन् ।
कर्णाली प्रदेशमा सहमहामन्त्री कर्ण बुढालगायतका नेता छन् भने सुदूरपश्चिमको जिम्मा सहमहामन्त्री प्रकाश रसाइलीले पाएका छन् । उनीहरूले उम्मेदवारहरूको सूची समीक्षा गरेर सिफारिस गर्नेछन् । नयाँ पत्रिकामा खवर छ।