spot_img

कांग्रेसमा अन्तरिम सहमतिःटिकटमा गगनको हस्ताक्षर,सर्वोच्चको निर्णय अन्तिम तर देउवा र आरजुलाइ चुनावी मैदानबाट बाहिर

spot_img

प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण र समग्र विवादमा कांग्रेसभित्र अन्तरिम सहमति भएको छ । सहमतिअनुसार विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापालाई सभापति मानेर उनकै हस्ताक्षरमा टिकट लिन देउवा पक्ष (इतर समूह) तयार भएको छ । साथै दुवै पक्ष सर्वोच्च अदालतको निर्णयलाई अन्तिम मानेर जान सहमत भएका छन् ।

कांग्रेसमा देउवा पक्ष (इतर समूह) र संस्थापन पक्षबिच आइतबार र सोमबार भएका चरणबद्ध छलफलपछि आंशिक सहमति बनेको हो । निर्वाचन आयोगको निर्णयअनुसार थापालाई सभापति मानेर देउवा–कोइराला समूहले मनोनयनका लागि टिकट लिएका छन् । यद्यपि, सोमबार रातिसम्म कांग्रेसमा सबै क्षेत्रको टिकटको बाँडफाँट भएको छैन ।

विशेष महाधिवेशनबाट निर्वाचित र निर्वाचन आयोगद्वारा मान्यता प्राप्त सभापति थापालाई सभापति मानेर अघि बढ्ने सहमति भए पनि देउवा पक्षले आयोगको निर्णयविरुद्ध दायर गरेको सर्वोच्च अदालतको रिट भने फिर्ता नगर्ने स्पष्ट पारेको छ । ‘अहिलेको निर्वाचन आयोगको निर्णयअनुसार सभापति गगन थापालाई सभापतिका रूपमा मान्ने र रुख चिह्नमा टिकट लिएर उम्मेदवारी दर्ता गर्ने सहमति भएको छ,’ कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘सर्वोच्च अदालतले जे फैसला वा आदेश दिन्छ, त्यसलाई सबैले स्वीकार गर्ने सहमति छ ।’

कांग्रेस संस्थापन पक्षबाट नेता मधु आचार्य र देवराज चालिसे तथा देउवा समूहबाट नेता बालकृष्ण खाण र शेखर समूहबाट डा. मीनेन्द्र रिजालबिच सोमबार छलफल भएको थियो । उनीहरूबिच आइतबार राति पनि छलफल भएको थियो । सोमबार देउवा पक्षले आफ्नातर्फबाट टिकट पाउनुपर्ने व्यक्तिको सूची नै संस्थापन पक्षलाई बुझाएको थियो ।

तर, मुद्दा फिर्ता लिन तयार नभए समूहगत रूपमा टिकट वितरण गर्न नेतृत्व (सभापति गगन थापा) तयार भएन । ‘समूहगत रूपमा टिकट टुंग्याउने हो भने आइतबार सर्वोच्चमा दायर भएको रिट फिर्ता लिनुस्, होइन भने हामी व्यक्तिगत रूपमा सबै पक्षमा भएका साथीहरूसँग कुरा गर्छौँ । चुनाव जित्न सक्ने र राम्रो छवि भएका साथीहरू समेट्छौँ, तर सामूहिक सौदाबाजी हुँदैन भन्ने हाम्रो स्पष्ट कुरा भयो,’ सभापति थापानिकट एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूबाट स्पष्ट जवाफ नआएपछि हामीले आफ्नै तरिकाले टिकट वितरण थाल्यौँ । सबैलाई समेट्नुपर्नेमा द्विविधा भएन, तर यो समूहलाई यति प्रतिशत भनेर खाली टिकट दिने सहमति गरिएन ।’

संस्थापन पक्षले देउवानिकट नेता विमलेन्द्र निधिलाई धनुषा– ३, ज्ञानेन्द्र कार्कीलाई सुनसरी–४, विजय गच्छदारलाई सुनसरी– ३, डा. प्रकाशशरण महतलाई नुवाकोट– १, एन.पी. साउदलाई कञ्चनपुर– २ बाट टिकट दिएको छ । शेखर कोइराला समूहका नेता डा. सुनील शर्मा र डा. गोविन्दराज पोखरेल मोरङ– ३ र प्युठानबाट उम्मेदवार बनेका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट रामहरि खतिवडालाई ओखलढुंगाबाट टिकट दिइएको छ ।

नेता खड्कालाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन सभापति थापा र उपसभापति शर्माले सोमबार अनुरोध गरेका थिए । तर, सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले नैतिक कारणले उनी उम्मेदवार बन्न तयार नभएको जवाफ फर्काएका थिए । संस्थापन पक्ष देउवानिकट कांग्रेस नेताहरू दीपक खड्का, मोहन बस्नेत, बालकृष्ण खाण, रमेश लेखक र आरजु राणा देउवालाई टिकट नदिने पहिल्यै स्पष्ट थियो ।

संस्थापन पक्षका नेताले पूर्वसभापति देउवा मुद्दा फिर्ता गराउन सकारात्मक भएको, तर अबेरसम्म जवाफ नआएको बताए । यद्यपि, देउवाका स्वकीय सचिव भानु देउवाले सञ्चारकर्मीहरूलाई आफ्नो मोबाइलबाट पठाएको एसएमएसमा मुद्दा फिर्ता नलिने स्पष्ट पारेका छन् । रिट निवेदन फिर्ता नहुने र अदालताट निष्पक्ष न्याय सम्पादन हुने अपेक्षा रहेको उनले बताएका छन् ।

कांग्रेस नेता एवं पूर्वकार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतको निर्णय स्वीकार्य र मान्य हुने स्पष्ट पारेका छन् । उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरण प्रक्रियामा आफू सहभागी नभएको प्रस्ट गरेका छन् । ‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको टिकट वितरणसम्बन्धी कुनै पनि बैठक वा प्रक्रियामा म सहभागी भएको छैन र मलाई कुनै जानकारी पनि छैन । कसैमा भ्रम नहोस्,’ उनले भनेका छन् ।

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्। ’शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ उनले भनेका छन्।

उनी डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । यस्तै उनकी पत्नी आरजु राणा देउवाले पनि चुनाव लड्ने मनसाय देखिए पनि गगनले टिकट दिएनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img