प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार टुङ्गो लगाएको छ । नेकपाबाट उम्मेदवारी दर्ताका लागि रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख–१ मा अम्मरबहादुर थापा, दैलेख–२ मा योगेन्द्रबहादुर शाही, सुर्खेत–१ मा जीतबहादुर राना, सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पामा धनबहादुर बुढाले टिकट पाएका छन् ।
यस्तै हुम्लामा डा. दीपेन्द्र रोकाया, कालिकोटमा महेन्द्रबहादुर शाही, जाजरकोटमा शक्ति बस्नेत, सल्यानमा रमेश मल्ल र मुगुमा चन्द्रबहादुर शाहीलाई नेकपाले उम्मेदवार बनाएको छ । टिकट पाएकामध्ये तीन जना साविक एकीकृत समाजवादीतर्फका नेता छन् भने बाँकी ९ जना साविक माओवादीतर्फका । ‘हेभीवेट’ नेता मानिएका सल्यानका प्रकाश ज्वालाले यो पटक टिकट पाउन सकेनन् । साविकको एकीकृत समाजवादी पृष्ठभूमिका नेताले दैलेख–१, मुगु र डोल्पामा उम्मेदवारी पाएका छन् । नेकपाले प्रत्यक्षतर्फ कर्णालीबाट एक जना पनि महिलालाई टिकट दिएको छैन ।
कहाँकाे अवस्था के छ ?
सल्यानबाट प्रकाश ज्वालाले ०७९ को चुनावमा आफ्ना प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए । मल्ललाई उनको सहयोगबिच सल्यानमा चुनाव जित्न कठिन हुने नेताहरूको विश्लेषण छ ।
यस्तै सुर्खेत–१ मा उम्मेदवार बनेका जीतबहादुर राना ०४७ मा मालेको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । ०५८ सालमा माओवादीमा प्रवेश गरेका उनी अवलचिङको जनसरकार प्रमुख भए । त्यसपछि सैन्य ब्युरो सदस्य हुँदै उनी जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएका थिए । उनी यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज समेत हुन् ।
सुर्खेत–२ कालागि टिकट पाएका झकबहादुर मल्ल ‘सुदीप’ साविकको माओवादी केन्द्रका सुर्खेत जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।युवामाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् ।
हुम्लाका डा. दीपेन्द्र रोकाया पहिलो पटक संसदीय राजनीतिमा जाने दाउमा छन् । कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहिसकेका उनले कर्णालीको प्रथम पञ्चवर्षीय गुरुयोजना तयार पारेका थिए । युद्धकालका युद्धपत्रकार समेत रहेका उनी ०७९ मै प्रतिनिधि सभा चुनाव लड्न चाहन्थे । तर, पार्टी केन्द्रले छिरिङ डम्डुल लामालाई उम्मेदवार बनाएको थियो ।
कालिकोटमा पुनः महेन्द्र,डोल्पादेखि दैलेखसम्म पुरानै अनुहार
कालिकोटमा सुरुमा प्रचण्ड चुनाव लड्ने भनेर उनको नाम एकल सिफारिस गरियो । तर, प्रचण्ड रुकुम पूर्व जाने भएपछि ११ जना आकाङ्क्षी देखिएका थिए । अन्तिममा महेन्द्रबहादुर शाहीलाई नै नेकपाले उम्मेदवार बनाएको छ । शान्ति प्रक्रियापछि कालिकोटमा माओवादीले नै लगातार चुनाव जित्दै आएको छ ।
डोल्पामा टिकट पाएका धनबहादुर बुढा ०७९ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा जितेका नेता हुन् । उनलाइ पुरानाे माअाेवादी खेमाले सहयाेग गरेकाे छैन त्यसैले उनकाे जित पनि कठिन हुने देखिन्छ। जनार्दन फ्याक्टरले काम गर्दा उनलाइ हम्मेहम्मे पर्ने छ।
रुकुम पश्चिममा उम्मेदवार बनेका गोपाल शर्मा ०७४ मा प्रदेश सभा सदस्य बनेका थिए। उनी पहिलो पटक आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’ सँगै प्रतिनिधि सभा चुनाव लड्दै छन् । रुकुम पश्चिममा प्रभाकर बलिया छन् । उनी अहिले नयाँ राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर सोही पार्टीबाट चुनावी मैदानमा छन् । राजनीतिक गुरु–चेलाबिच चुनावी प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ ।
दैलेख–१ मा अम्मरबहादुर थापा पुनः उम्मेदवार बनेका छन् । यो क्षेत्रमा उनले पुनः आफ्नै पूर्व सहकर्मीहरू एमालेका रविन्द्रराज शर्मा र रास्वपाका एनके बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन् ।
उता जुम्लामा नरेश भण्डारी कर्णालीको माओवादीभित्र बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्चरका रूपमा चिनिन्छन् । उनकै नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका ठुला विकासे आयोजना अघि बढेका छन् । गत चुनावमा सुरुमा भण्डारीले नै टिकट पाउने भनेर उनी चुनावी अभियानमै सरिक भइसकेका थिए । तर, पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी केन्द्रले गोमा गौतम ‘कुँवर’लाई उम्मेदवार बनायो । उनलाई राप्रपाका ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले झन्डै दोब्बर मतान्तरले पराजित गरे, जबकि गोमालाई नेपाली कांग्रेसको समेत साथ थियो ।
यस्तै दैलेख–२ मा उम्मेदवार बनेका योगेन्द्र शाही यसअघि ०७९ मा प्रदेश सभा चुनावमा पराजित भएका थिए । बौद्धिक वर्गमा परिचित शाही पराजित भए पनि कर्णालीका तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माका पालामा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष बनेका थिए । दैलेख–२ मा माओवादीको कमजोर संगठन भएको क्षेत्र भए पनि प्रदेश सभा चुनावमा झिनो मतान्तरले पराजित भएका थिए ।
मुगुका उम्मेदवार बनेका चन्द्रबहादुर शाहीको राजनीतिक पृष्ठभूमि एमाले हो । ०७४ मा प्रदेश सभा सदस्य रहेका उनी नेकपा विभाजनका बेला एकीकृत समाजवादीतिर लागे । त्यसपछि उनी कर्णालीका कृषिमन्त्री समेत भए ।
जाजरकोटमा पुनः शक्तिलाई टिकट दिएपछि लफडा
जाजरकोटमा पुनः शक्ति बस्नेतलाई नै टिकट दिएपछि लफडा भएको छ । ०७४ सालदेखि निरन्तर चुनाव लड्दै, जित्दै आएका बस्नेतले सुरुमा जिल्लाका नेता, कार्यकर्तासँग यो पटक चुनाव नलड्ने भनेका थिए । यद्यपि ठुलो नेता भनेर सम्मानार्थ उनकोसमेत नाम राखेर गणेशप्रसाद सिंह, रामदीप आचार्य लगायतका नेताहरूको नाम सिफारिस गरिएको थियो ।
तर अन्तिममा प्रचण्डले बस्नेतलाई नै पाँचौँ पटक टिकट दिएपछि गणेशप्रसाद सिंहले असहमति राख्दै पार्टी नै परित्याग गरेका छन् । उनले आइतबार प्रचण्डलाई असहमतिपत्र बुझाउँदै पार्टी छाडेको जानकारी गराएका छन् ।
अर्का नेता रामदीप आचार्यले सोमबार सामाजिक सञ्जालमा १० बुँदे असन्तुष्टि पोखेका छन् । जाजरकोट माओवादीको बलियो प्रभाव भएको जिल्ला हो । राताेपाटीकाे सहयाेगमा