spot_img

चुनावी महाभिडन्तःझापा ५ मा भावी प्रधानमन्त्रीका दुई दाबेदार ओली र बालेन,पूर्व सभामुख र उपसभामुख आमनेसामने देखि चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री र दर्जनाैँ मन्त्रीहरू

spot_img

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ वटै सिटका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार चुनावी तयारीमा जुटेका छन् । केही निर्वाचन क्षेत्रमा हुने प्रतिस्पर्धाप्रति आमनागरिकको चासो चुलिएको छ । केही सिट यस्ता छन्– जहाँ राष्ट्रिय राजनीतिसम्म प्रभाव पार्ने भिडन्त हुँदै छन् । ती क्षेत्रमा हुने हारजितले संसद् र सत्ताकै समीकरणमा व्यापक हेरफेर ल्याउन सक्छ ।

बढी चासो र चर्चामा रहेको झापा ५ मा भावी प्रधानमन्त्रीका दुई दाबेदार केपी ओली र बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । जेन–जी आन्दोलनका कारण सत्ताच्युत भएका ओली आठौँपटक यही क्षेत्रबाट चुनावी मैदानमा छन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पहिलोपटक संसदीय चुनाव लड्दै छन् । जेन–जी विद्रोहबाट सत्ता गुमाएका ओलीलाई जेन–जीको समर्थन प्राप्त बालेन चुनौती बनेका छन् । ओली मतदाता जोगाउने अभियानमा लागेका छन् । बालेनले झापा पुगेर कांग्रेस र एमालेका स्थानीय युवा नेता तथा कार्यकर्तालाई रास्वपामा भिœयाएका छन् ।

कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईंलाई मनोनयन दर्ताकै दिन बालेनले रास्वपामा स्वागत गरे । झापा ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी पनि रास्वपा प्रवेश गरे । एमालेनिकट युवा संघ नेपालका दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि एमाले छाडेर रास्वपामा प्रवेश गरेका छन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएबाहेक ओलीले जित्दै आएका छन् । ०४६ को जनआन्दोलनपछि ०४८ मा भएको पहिलो आमनिर्वाचनदेखि ०५१ र ०५६ को प्रतिनिधिसभा निर्वाचन, ०७० र संविधान जारी भएपछि भएको ०७४ र ०७९ को निर्वाचनमा ओलीले जित हासिल गरेका थिए । चारपटक प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले फेरि भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।

गत निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ ल्याएका थिए । गत निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी र समाजवादीको गठबन्धन थियो भने एमाले र राप्रपाले गठबन्धन गरेका थिए ।

यो क्षेत्रबाट रास्वपाका सुरेश पोखरेल ११ हजार ७५९ मतसहित तेस्रो भएका थिए । अहिले ओलीलाई रास्वपाका बालेनले चुनौती दिएका छन् । यस क्षेत्रमा नेकपाले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । कांग्रेसले मन्धरा चिमोरियालाई अघि सारेको छ ।

कांग्रेस सभापति थापालाई अमरेशको ‘चेक’
अर्र्को चासोको क्षेत्र हो सर्लाही ४, जहाँ कांग्रेसमा नवनिर्वाचित सभापति गगन थापा र कांग्रेसकै पुराना अनुभवी पूर्वसांसद अमरेशकुमार सिंह प्रतिस्पर्र्धामा छन् । काठमाडौं ४ बाट पटक–पटक निर्वाचन जित्दै आएका थापा यसपटक मधेश झरेका छन् ।

थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । त्यसैले पनि यो क्षेत्रप्रति सर्वत्र चासो छ । काठमाडौं, सर्लाहीलगायतका आठ–दश क्षेत्रबाट सिफारिस भए पनि थापाले सर्लाही ४ नै रोजेका हुन् । निर्वाचनको मुखमा विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा आएपछि उम्मेदवार चयनमा व्यस्त भएका कारण वारेसनामामार्फत थापाले उम्मेदवारी दर्ता गरेका थिए ।

विगतमा कांग्रेसबाट निर्वाचन जितेका सिंह गत निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर जितेका थिए । यसपालि भने रास्वपाको संगठनको बलमा अमरेश निर्वाचन लड्दै छन् । सिंह मतदातामाझ परिचित अनुहार हुन् । यस क्षेत्रमा एमालेले अमनिस यादवलाई उम्मेदवार बनाएको छ । उनी पूर्वसांसद शिवपुजन यादवका छोरा हुन् । उनीसँग १३–१४ हजार ‘पकेट मत’ रहेको बताइन्छ । कांग्रेसबाट थापा उम्मेदवार बनेपछि एमालेले रातारात उम्मेदवार परिवर्तन गरेको हो । सुरुमा एमालेले पुराना कार्यकर्ता रविशंकर कुसवाहलाई सर्लाही ४ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पूर्वसभामुख र पूर्वउपसभामुख आमनेसामने
अर्को चासोको क्षेत्र हो झापा २, जहाँ विघटित संसद्मा सहकार्य गरेका पूर्वसभामुख र पूर्वउपसभामुख आमनेसामने भएका छन् । पूर्वसभामुख देवराज घिमिरे एमालेबाट र पूर्वउपसभामुख इन्दिरा राना रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेसबाट निवर्तमान सांसद सरिता प्रसाईं, नेकपाबाट संविधान सभा सदस्य धर्मशिला चापागाईं र राप्रपाबाट स्वागत नेपाल उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा पनि नेपाल यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा स्वतन्त्रबाट उठेका नेपाल यसपटक भने राप्रपाको संगठित सदस्यताको बलमा निर्वाचनमा होमिएका छन् । वरिष्ठ अधिवक्ता युवराज संग्रौला पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् ।

एमाले महासचिवसँग रास्वपाका सहमहामन्त्री
दाङ २ मा एमाले महासचिव शंकर पोखरेल विप्लव नेतृत्वको माओवादीसँग तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले अध्यक्ष ओलीका विश्वासपात्र पोखरेल गत निर्वाचनमा तत्कालीन माओवादी हालको नेकपाकी रेखा शर्मासँग पराजित भएका थिए । अघिल्लो पराजयको डरले पोखरेलले विप्लवसँग तालमेल गरेका हुन् । पोखरेललाई समर्थन गरेबापत खड्गबहादुर विश्वकर्मालाई एमालेले कालीकोटमा सघाउने भएको छ । यो क्षेत्रमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य समानुपातिकबाट उम्मेदवारी फिर्ता लिएर प्रत्यक्षको उम्मेदवार बनेका छन् । समानुपातिकको खसआर्यतर्फ १ नम्बर सूचीमा रहेका आचार्य नाम फिर्ता लिएर प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेसबाट किरणकिशोरी घिमिरे र नेकपाबाट निर्मल आचार्यलगायत पनि प्रतिस्पर्धामा छन् ।

सर्लाही २ मा मधेशका दुई पुराना हस्ती
मधेशका दुई पुराना हस्ती महिन्द्र राय यादव र राजेन्द्र महतोका कारण सर्लाही २ पनि चर्चामा छ । दुई पूर्वमन्त्री यादव र महतो सधैँका प्रतिस्पर्धी हुन् । गत निर्वाचनमा यादव कांग्रेस–माओवादी गठबन्धनबाट र महतोलाई एमालेले समर्थन गरेको थियो । यसपटक भने गठबन्धन छैन । यो क्षेत्रमा कांग्रेसका डा. सरोज यादव, एमालेका नागेश्वर साह र रास्वपाका रविन महतो पनि प्रतिस्पर्धामा छन् । त्यसैले यो क्षेत्रमा पुराना र नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

भण्डारी र ज्ञवालीको भिडन्तमा भित्रिए सागर
गुल्मी १ मा सदाबहार प्रतिस्पर्धी चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको प्रतिस्पर्धामा युवा नेता सागर ढकालको ‘इन्ट्री’ भएको छ । कांग्रेसका भण्डारी र एमालेका ज्ञवालीले आलोपालो निर्वाचन जित्दै आएको यो क्षेत्रमा रास्वपाले ढकाललाई उम्मेदवार बनाएको छ । दुईपक्षीय प्रतिस्पर्धा हुने यो क्षेत्रमा यसपटक भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । ढकालले गत निर्वाचनमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट प्रतिस्पर्धा गरेका थिए । यो क्षेत्रमा नेकपाले सुदर्शन बराललाई उम्मेदवार बनाएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री र पूर्वरक्षामन्त्रीको प्रतिस्पर्धा
पूर्वउपप्रधान तथा गृहमन्त्री र पूर्वरक्षामन्त्रीको प्रतिस्पर्धाले सर्लाही ३ को निर्वाचन पनि रोचक बनेको छ । नेकपाबाट पूर्वउप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ यो निर्वाचनमा मधेश झरेका हुन् । श्रेष्ठ यसअघि गोरखाबाट उम्मेदवार बनेका थिए । राष्ट्रिय सभा सदस्य भएका कारण गत निर्वाचनमा भने उनी श्रेष्ठ उम्मेदवार थिएनन् । राष्ट्रिय सभामा कार्यकाल अन्तिम चरणमा पुगेका वेला राजीनामा दिएर श्रेष्ठ प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । एमालेबाट यो क्षेत्रमा निवर्तमान सांसद हरि उप्रेती उम्मेदवार छन् । उप्रेती पूर्वरक्षामन्त्रीसमेत हुन् । रास्वपाबाट नरेन्द्र साह प्रतिस्पर्धामा छन् । उनी संविधानसभा सदस्य हुन् ।

गोरखा २ मा गुरुचेला प्रतिस्पर्धामा
गुरुचेलाको प्रतिस्पर्धाले गोरखा २ चर्चामा छ । चुनाव नलड्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा २ मा पुनः चुनावी मैदानमा फर्किएका छन् । यही क्षेत्रमा भट्टराईका चेला लेखनाथ न्यौपाने पनि चुनावी प्रतिस्पर्धामा छन् । भट्टराई र न्यौपाने दुवै माओवादी आन्दोलनमा सँगै थिए । भट्टराईले नयाँ पार्टी बनाए पनि न्यौपाने भने मूल पार्टीमै छन् । उनले नेकपाबाट पहिलोपटक अवसर पाएका हुन् । यही क्षेत्रमा रास्वपामा महामन्त्री कवीन्द्र बुर्लाकोटी प्रतिस्पर्धामा छन् । उनी गत निर्वाचनमा पनि उम्मेदवार थिए । उक्त निर्वाचनमा नेकपाका संयोजक प्रचण्ड निर्वाचित भएका थिए । एमालेले भने डन चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।

स्वर्णिम र गोविन्दको पुरानै प्रतिस्पर्धामा भगवतीको ‘इन्ट्री’
तनहुँ १ मा स्वर्णिम वाग्ले र गोविन्द भट्टराईको पुरानै प्रतिस्पर्धामा भगवती न्यौपानेको इन्ट्री भएको छ । कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेलगत्तै गत उपनिर्वाचनमा वाग्ले यो क्षेत्रबाट निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा विजयी कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेसका भट्टराईलाई पराजित गर्दै रास्वपाका वाग्ले निर्वाचित भएका थिए । २१ फागुनको निर्वाचनमा पुनः रास्वपाबाट वाग्ले र कांग्रेसबाट भट्टराई आमनेसामने भएका हुन् । पूर्वमन्त्री भगवती न्यौपानेलाई एमालेले अघि सारेको छ । नेकपाका विद्यानाथ ढकाललगायत प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीको प्रतिस्पर्धा
रौतहट १ को निर्वाचन पनि पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीको प्रतिस्पर्धाका कारण रोचक हुने भएको छ । यो क्षेत्रमा नेकपाबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसबाट पूर्वमन्त्री अनिल झा, एमालेबाट अजय गुप्ता र रास्वपाबाट राजेश चौधरी उम्मेदवार छन् ।

पाँचजना पूर्वमन्त्रीको प्रतिस्पर्धा
पाँचजना पूर्वमन्त्रीको प्रतिस्पर्धाले सिराहा ४ को निर्वाचनलाई पनि रोचक बनाएको छ । एमालेका धर्मनाथ साह, नेकपाका अजयशंकर नायक, जसपा नेपालका राजकिशोर यादव, जनमतका वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान उम्मेदवार बनेका हुन् ।

पूर्वमन्त्रीहरूको प्रतिस्पर्धाले नवलपरासी पश्चिम २ चर्चामा
यस्तै, पूर्वमन्त्रीहरूको प्रतिस्पर्धाले नवलपरासी पश्चिम २ को निर्वाचन पनि चर्चामा छ । नवलपरासी पश्चिम २ मा कांग्रेस र नेकपाले पूर्वमन्त्रीलाई मैदानमा उतारेका छन् । कांग्रेसका देवेन्द्रराज कँडेल र नेकपाबाट देवेन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । रास्वपाबाट नरेन्द्र गुप्ता र जसपा नेपालबाट रामबच्चन अहिर प्रतिस्पर्धामा छन् ।

मेयर र निवर्तमान सांसदको भिडन्तले चितवन ३ ‘हटसिट’
देशभरकै सर्वाधिक सफल मेयरको छवि बनाएकी रेनु दाहाल र प्रस्ट वक्ताको छवि बनाएकी निवर्तमान सांसद सोविता गौतमको प्रतिस्पर्धाले चितवन ३ को निर्वाचन चर्चामा छ । सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयरका रूपमा राम्रो काम गरेकी दाहालसँग गत निर्वाचनमा काठमाडौंबाट निर्वाचित गौतम प्रतिस्पर्धा गर्न गएकी हुन् । दाहाल नेकपाबाट र गौतम रास्वपाबाट उम्मेदवार बनेका छन् । विकास निर्माणदेखि बेरुजु फस्र्योटमा रेनुले मेयरको रूपमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा हुँदै आएको छ ।

एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष र कांग्रेस महामन्त्री प्रतिस्पर्धामा
काठमाडौं ५ मा पुराना दुई प्रतिस्पर्धी एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । पोखरेल एमालेको गत महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि पार्टी राजनीतिबाट ओझेलमा परेका छन् । पौडेल गत विशेष महाधिवेशनबाट महामन्त्री बनेसँगै पार्टी सत्तामा स्थापित भएका छन् । गत निर्वाचनमा पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका थिए । यो क्षेत्रमा रास्वपाका सस्मित पोखरेल र नेकपाकी कल्पना शर्मालगायत पनि प्रतिस्पर्धामा छन् ।

सिके राउतलाई सहकर्मीकै चुनौती
जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सहकर्मीले नै चुनौती दिएपछि सप्तरी २ को निर्वाचन पनि रोचक बन्ने भएको छ । गत निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराएर निर्वाचित भएका सिके राउतलाई यो निर्वाचनमा आफ्नै सहकर्मी चुनौती बनेका छन् । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले प्रदेश सांसदबाट राजीनामा दिएर राउतकै क्षेत्रमा उम्मेदवारी दिएका हुन् । ०७९ को निर्वाचनमा जनमत पार्टीबाट सप्तरी २ को प्रदेश सभा २ बाट जितेका सिंहले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा जसपा नेपालबाट पूर्वमन्त्री उमेश यादव उम्मेदवार छन् । कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मो. जियाउल रहमान, नेकपाबाट सूर्यनाथ यादव, रास्वपाबाट रामजी यादवलगायत प्रतिस्पर्धामा छन् ।

विमलेन्द्र, जुली र मनीष प्रतिस्पर्धामा
निवर्तमान सांसद र पार्टीमा पकड भएका नेताबिच धनुषा ३ मा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा कांग्रेसबाट पूर्वउपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेबाट पूर्वमन्त्री जुली महतो र रास्वपाबाट प्रवक्ता मनीष झा चुनावी प्रतिस्पर्धामा छन् । तीनैजना निवर्तमान सांसद हुन् । विघटित संसद्मा निधि र झा समानुपातिकतर्फबाट र महतो प्रत्यक्ष निर्वाचित सांसद थिए । कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुँदै आएको यो क्षेत्रमा यसपालि रास्वपाका झाको प्रवेशले रोचक बनाएको छ ।

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री र शीर्ष नेता
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रधानमन्त्री केपी ओली झापा ५, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग झापा ५ मा कांग्रेसका मन्धरा चिमोरिया, नेकपाबाट रञ्जित तामाङ, रास्वपाबाट बालेन्द्र शाह (बालेन) र राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला प्रतिस्पर्र्धामा छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुकुम पूर्वमा कांग्रेसकी कुसुमदेवी थापामगर, एमालेका लीलामणि गौतम, रास्वपाका लखन थापा र राप्रपाका रोशनध्वज शाह प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालसँग रौतहट १ मा कांग्रेसका अनिलकुमार झा, एमालेका अजयकुमार गुप्ता, रास्वपाका राजेश चौधरी र राप्रपाका श्रीराम साह प्रतिस्पर्धामा छन् ।

पूर्वप्रधानमन्त्री एवं प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईसँग गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कवीन्द्र बुर्लाकोटी र राप्रपाका कुलबहादुर बस्नेत प्रतिस्पर्धामा छन् ।

रास्वपाका सभापति रवि लामिछानेसँग कांग्रेसकी मीनाकुमारी खरेल, एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ र राप्रपाका जगदीश अधिकारी प्रतिस्पर्धामा छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग झापा ३ मा कांग्रेसका राजेन्द्र घिमिरे, एमालेका हरिलाल राजवंशी, नेकपाका हंशराज राजवंशी र रास्वपाका प्रकाश पाठक प्रतिस्पर्धामा छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सप्तरी ३ मा कांग्रेसका दिनेश यादव, एमालेका ताराकान्त चौैधरी, नेकपाका अरुणकुमार साह, रास्वपाका डा. उमाकान्त चौधरी र राप्रपाका उम्देश्वर साह प्रतिस्पर्धामा छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलसँग रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसाद शर्मा, नेकपाबाट सुभाष पाण्डे (विश्वदीप), रास्वपाबाट सुलभ खरेल, राप्रपाबाट कार्भिका थापा प्रतिस्पर्धामा छन् ।

निर्वाचनको केन्द्रमा कोशी र मधेश
भावी प्रधानमन्त्रीका दाबेदार र दलका शीर्ष नेताहरूका कारण २१ फागुनको निर्वाचनको केन्द्रमा कोशी र मधेश छन् । कोशीबाट झापा ५ मा भावी प्रधानमन्त्रीका दुई दाबेदार एमालेका केपी ओली र रास्वपाका बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि कोशीकै झापा ३ बाट प्रतिस्पर्धामा छन् । निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना पनि कोशीकै झापा २ बाट प्रतिस्पर्धामा छन् । विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका गगन थापा मधेश झरेसँगै चुनावी चर्चा चुलिएको छ । उनी सर्लाही ४ बाट चुनाव लड्दै छन् । यस्तै, मधेशको छोरो बालेन्द्र शाह (बालेन)लाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकाले पनि मधेश आगामी निर्वाचनको केन्द्रमा छ । मधेशको ठुलो दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ र जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट निर्वाचन लड्दै छन् । नेकपाका सहसंयोजक माधव नेपाल रौतहट १ र नेता नारायणकाजी श्रेष्ठ सर्लाही ४ बाट मैदानमा छन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img