spot_img

बागी उम्मेदवारका कारण तनावमा नयाँ–पुराना सबै पार्टीहरूःविद्रोही उम्मेदवार फकाउँदै नेताहरू,आज १ बजेसम्म फिर्ता लिने समय

spot_img

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका आधिकारिक उम्मेदवारहरूविरुद्ध एक दर्जनभन्दा बढी स्थानमा बागी उम्मेदवारी परेको छ । पार्टी केन्द्रको निर्णयविरुद्ध विद्रोह गर्दै बागी बनेका अधिकांशले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छैनन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारी फिर्ता लिने समयसीमा छ ।

ठुला दल कांग्रेस र नेकपाबाट झन्डै एक दर्जन स्थानमा बागी उम्मेदवारी परेको छ । त्यसपछि रास्वपाबाट बागी धेरै छन् । एमालेबाट एउटा क्षेत्रमा मात्र बागी उम्मेदवारी परेको छ । एमालेले सुरुमै कैयौँ उपल्लो तहकै नेताहरूलाई टिकट नदिएर पाखा लगाए पनि बागी उम्मेदवारी कम छन् । कांग्रेसमा काठमाडौं क्षेत्र नम्बर १ बाट बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् । यहाँ कांग्रेसका आधिकारिक उम्मेदवार प्रबल थापा हुन् । सिफारिसमै नपरेका थापालाई टिकट दिइएको भन्दै आचार्यले उम्मेदवारी फिर्ता लिएका छैनन् । यो क्षेत्रबाट ०७९ मा नेता प्रकाशमान सिंह विजयी भएका थिए । यसपटक भने उनले टिकट पाएनन् ।

त्यस्तै, कालिकोटमा जिल्ला सभापति हर्षबहादुर बमको आधिकारिक उम्मेदवारीविरुद्ध नेता भूपेन्द्रजंग शाहीले बागी उम्मेदवारी दर्ता गरेका छन् । ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका शाहीले योपटक टिकट पाएनन् । बम गगन समूहका हुन् । त्यस्तै, कपिलवस्तु १ मा अतहर कमालविरुद्ध युवा नेता आशीष शर्माले स्वतन्त्र रूपमा बागी उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला कार्यसमितिले सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिएको विरोधमा उनले विद्रोह गरेका हुन् ।

कैलाली क्षेत्र नम्बर २ मा उठेका विजय स्वारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । त्यहाँ मोहनसिंह राठौरले बागी उम्मेदवारी दिएका छन् । कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको थियो ।त्यस्तै, बैतडीमा कांग्रेसको आधिकारिक उम्मेदवार चतुरबहादुर चन्दविरुद्ध जिल्ला नेता तेज चन्दले बागी उम्मेदवारी दिएका छन् । उता, नवलपरासी २ मा कांग्रेसबाट दुईजनाको उम्मेदवारी परेकोमा उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले कांग्रेसबाटै मनोनयन गराएका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरेको हो । दुवैजनाले टिकट ल्याएर मनोनयन दर्ता गरेपछि भएको अन्योलमा केन्द्रले थापाको उम्मेदवारीलाई मान्यता दिएको छ ।
उता, नेकपाभित्र पनि केही स्थानमा बागी उम्मेदवारी परेको छ । सिन्धुली २ मा राजन दाहालविरुद्ध नेता हरिबोल गजुरेल आफैँ प्रस्ताव बसेर अर्का नेता महेश्वर दाहाललाई बागी उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला नेतृत्व पनि महेश्वरकै पक्षमा खुलेपछि संकटमा परेका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समस्या समाधानका लागि पहल अगाडि बढाएका छन् । उनले हरिबोलसहित आधिकारिक र बागी दुवै उम्मेदवार तथा जिल्ला नेतृत्वलाई काठमाडौंमा बोलाएका छन् । त्यस्तै, दाङ १ मा नेकपामै विद्रोह भएको छ । आधिकारिक उम्मेदवार मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री तथा नेता कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कालीकोट–१ मा पार्टीको आधिकारिक उम्मेदवार महिन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढाले उम्मेदवारी दिएका छन् । शाही ०७०, ०७४ र ०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पार्टीले टिकट नदिएपछि बुढाले बागी उम्मेदवारी दिएको बताएका छन् । यही क्षेत्रमा विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा उम्मेदवार छन् । यहाँ नेकपा माओवादीको एमालेसँग तालमेल छ । त्यस्तै, उदयपुर–२ मा पनि नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । नेकपाका उम्मेदवार सुरेशकुमार राईविरुद्ध मेजर राईले बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै, एमालेमा भने एउटा क्षेत्रमा मात्र बागी उम्मेदवारी परेको छ । उदयपुर १ मा दुर्गा थापा स्वस्तीविरुद्ध डा. कल्याण रोकाले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी फिर्ता गर्ने विषयमा करिब करिब सहमति जुटिसकेको एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाको दाबी छ । ‘हामीले फिर्ताका लागि प्रयास गरेका छौँ, सम्भवतः अन्तिम समयसीमा शुक्रबारसम्म उहाँको उम्मेदवारी फिर्ता हुन्छ ।’ खतिवडाले नयाँ पत्रिकासँग भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि केही क्षेत्रहरूमा बागी उम्मेदवारी परेको छ । रूपन्देही ३ मा डा. लेखजंग थापाविरुद्ध जितबहादुर (जेबी) गुप्ताले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै, रामेछापमा पनि रास्वपाका आधिकारिक उम्मेदवार कृष्णहरि बुढाथोकीविरुद्ध अरुण कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । उता ओखलढुंगामा पनि रास्वपाका आधिकारिक उम्मेदवार विश्वराज पोखरेलविरुद्ध विक्रम दाहालले उम्मेदवारी दिएका छन् । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img