काठमाडौँ — सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावी मैदानमा उत्रने भएको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा यही छ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले बताए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ भन्दै प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् । गत भदौमा भएको जेन–जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ताको माग भइरहेका बेला २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति बनाएको हो । थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको एक सातापछि पार्टी मुख्यालय सानेपामा पहिलो पटक शुक्रबार बैठक बस्न लागेको हो ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको र पार्टी केन्द्रीय कार्यालय सानेपा नछाडेका कारण थापा नेतृत्वको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको यसअघिको बैठक होटल र पार्टी प्यालेसहरूमा बस्दै आएको थियो ।
देशभर १६५ निर्वाचन क्षेत्रकै टिकट वितरण गर्दासमेत कांग्रेसले सानेपामा नभएर बाहिर बैठक बसेर वितरण गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत शुक्रबार अद्यावधि गर्ने निर्णय लिएपछि देउवा पक्ष त्यसको खारेजीको माग गर्दै सर्वोच्च गएको छ । सर्वोच्चले अन्तरिम आदेश दिन इन्कार गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बोलाइएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधि गर्ने निर्वाचन आयोगको निर्णय संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च गएपछि देउवा पक्षका धेरै नेताहरू थापाले हस्ताक्षर गरेकै टिकटबाट चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वसभापति देउवाले समेत थापाले हस्ताक्षर गरेको टिकटबाट उम्मेदवार हुन चाहेका थिए तर सभापति थापाले अभिभावक भएर बसिदिन गरेको आग्रहबमोजिम देउवाले चुनाव नलड्ने घोषणा गरेका थिए । देउवापछि सर्वोच्चमा मुद्दा दायर गर्न नेतृत्व लिएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा पहिल्यै गरेका थिए ।