काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सरकारले सबै शक्ति लगाएको बताएकी छन् ।शुक्रवार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित सशस्त्रको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचन सफल पार्न सरकारले सबै शक्ति लगाएको छ ।’
निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते नभइकन निर्वाचन सम्पन्न हुनुपर्ने कार्कीले बताइन् । उनले भनिन्, ‘चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’
कठिन भौगोलिक अवस्था र प्रतिकुल परिस्थितिमा पनि राष्ट्र सेवामा सक्रिय रहनु सशस्त्रको पहिचान रहेको प्रधानमन्त्रीले बताइन् । विगतको निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरेर काम गर्न प्रधानमन्त्री कार्कीले सशस्त्र प्रहरीका सकलदर्जालाई निर्देशन दिइन् ।उनले भनिन्, ‘बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यो सङ्गठनलाई थप व्यावसायिक बनाउन जरुरी छ ।’