कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा भइरहेको छ भने पहाडी जिल्लाहरुमा वर्षाका कारण चिसो बढेको छ । हिमपातले हिमाली जिल्लाका डाँडाकाँडाहरु ढपक्कै भएका छन् । कर्णालीमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण हवाई यातायात सेवा बन्द हुनुका साथै विद्युत् सेवा समेत अवरुद्ध भएका छन् । डोल्पामा सञ्चार सेवा समेत प्रभावित भएको छ । हिमपात र वर्षाले विद्युत् अवरुद्ध भयो, विद्युत् आपूर्ति नै नभएपछि सञ्चार सेवा समेत प्रभावित भएका छन्।अत्यधिक चिसोले मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् भने पशुचौपायालाई गोठबाट बाहिर निकाल्न सकिएको छैन ।
कृषक हर्षीत
हिमपात र वर्षाका कारण हिउँदे बालीलाई भने राहत पुगेको किसानहरुले बताएका छन् । यो वर्ष पानी नपर्दा गहुँ सुक्न लागेका थिए, गहुँका बोटहरु पहेंलो भइसकेका थियाे,पानीले थोरै भए पनि राहत भएको छ । हिउँदे वर्षाले खेतीपाती गर्ने किसानलाई ठुलो राहत भएको बताए । ‘गहुँ, जौ लगायत हिउँदे खेतीहरुमा खडेरीका कारण सुक्ने, रोग, कीरा लाग्ने अवस्था आएको थियो। केही राहत भएको छ।
उता आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेताहरु गाउँ–गाउँमा चुनाव प्रचारप्रसारमा व्यस्त छन् । हिमपातका कारण चुनावी अभियान समेत प्रभावित भएको विभिन्न पार्टीका नेता कार्यकर्ताहरू बताउँछन् ।