हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् विनोदका अनुसार आगामी सोमबारबाट पानी पार्ने अर्को पश्चिमी वायु भित्रने प्रक्षेपण गरेका छन्।‘हिजो पश्चिमी वायुले आधाभन्दा धेरै नेपालमा हल्कादेखि मध्यम वर्षा गरायो। अब अर्को प्रणाली फेरि सोमबारदेखि आउँदै छ,’ उनले पूर्वानुमान गर्दै भनेका छन्। अर्को प्रणालीले पनि यस्तै खालको वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।