spot_img

निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लंघनमा १० दिनमै आयोगले काट्यो २१ स्पष्टीकरण पत्रःहाइप्राेफाल नेताहरू पनि कसलाई कुन कसुरमा स्पष्टीकरण ?

spot_img

प्राप्त उजुरी र स्वयंकै अनुगमनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनमा दल, उम्मेदवार, व्यक्ति र संस्था गरी २१ वटा स्पष्टीकरण पत्र काटेको छ । आचारसंहिता लागेको १० दिनमै आयोगले धमाधम स्पष्टीकरण पत्र काटेको हो । प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि आयोगले ५ माघदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आचारसंहिता लागू भएपछि संघ, प्रदेश, स्थानीय सरकार, सार्वजनिक संस्थान, निजी क्षेत्र, सञ्चार क्षेत्र र मतदाताले के–के गर्न हुँदैन भनेर उल्लेख छ । यसै आधारमा गर्न नहुने काम गरेका दल, उम्मेदवार र संस्थानलाई आयोगले स्पष्टीकरण सोधेको हो । आचारसंहिता उल्लंघन प्रमाणित भए जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुन सक्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगमा प्राप्त उजुरी वा आयोग स्वयंको अनुगमनमा देखिएका उल्लंघनमा आयोगले स्पष्टीकरण सोध्ने गरेको बताए । ‘कुनै उजुरी आयो वा आयोगले स्वयंले थाहा पाएपछि आयोगमा रहेको उच्चस्तरीय आचारसंहिता समितिले स्पष्टीकरण सोध्ने निर्णय गर्छ । अनि सम्बन्धित शाखाले चिठी पठाउँछ,’ उनले भने, ‘पत्र प्राप्त गरेको तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । तर, बुधबारसम्म कसैले पनि जवाफ बुझाएका छैनन् ।’

आयोगले आचारसंहिताविपरीतका सामग्री राख्ने व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्ट साइबर ब्युरोबाट बन्द गराउँदै आएको छ । यसैगरी वेबसाइटहरू नेपाल टेलिकम, समाचारहरू प्रेस काउन्सिलमार्फत हटाउन लगाउँदै आएको छ ।

कसलाई कुन कसुरमा स्पष्टीकरण ?
१. निर्वाचन आयोगले एमाले अध्यक्ष केपी ओलीको मनोनयनका क्रममा सहभागी भएको भिडियो उजुरीका आधारमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्पष्टीकरण ।

२. बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरूलाई पाँच सय रुपैयाँको नोटहरू प्रदान गर्दै गरेको भिडियोको आधारमा नेपाली कम्युनिस्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई स्पष्टीकरण ।

३. आचारसंहिताविपरीत दलको झन्डाको प्रयोग र आचारसंहिताले तोकेको २५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन गरेको उजुरीका आधारमा रास्वपा ललितपुर २ का उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण ।

४. लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलक्षित घृणित अभिव्यक्ति दिएको तथा समाजमा भ्रम फैलाएको कारण निज व्यक्तिलाई तत्काल उम्मेदवारी खारेज गरी हदैसम्मको कारबाही गर्नुपर्ने उजुरीका आधारमा राप्रपा काठमाडौं ४ का उम्मेदवार सुरेन्द्र भण्डारीलाई स्पष्टीकरण ।

५. आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको उजुरीका आधारमा सप्तरी २ का उम्मेदवार एवं जनमत अध्यक्ष सिके राउतलाई स्पष्टीकरण ।

६. राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति दिएको उजुरीका आधारमा रास्वपा बाँके ३ का उम्मेदवार खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधिएको छ ।

७. अस्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्नेसमेत व्यहोराको विवरण पठाएको भन्ने उजुरीका आधारमा प्रलोपाबाट काठमाडौं ५ की उम्मेदवार निशा अधिकारीलाई स्पष्टीकरण ।

८. जेन–जी आन्दोलनमा रगतबाट लतपतिएको भाइरल र आइकोनिक जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ताको दुरुपयोग भएको उजुरीका आधारमा नेपाल जनसेवा पार्टीबाट रूपन्देही २ का उम्मेदवार कमल भुसाल (डा. निकोलस)लाई स्पष्टीकरण ।

९. पब्लिक डिबेटका लागि तयार छौँ भन्नेसमेत व्यहोराको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षले राखेको स्टाटसमा राखेको प्रतिक्रिया दिएका रास्वपा झापा ५ का उम्मेदवार बालेन्द्र शाहलाई स्पष्टीकरण । ओलीले उक्त स्टाटसमा बालेनलाई ‘सिंहदरबार जलाउन भूमिका खेलेको’ संकेत गरेका थिए भने बालेनले ‘जेन–जी आन्दोलनमा ओलीकै कारण ७६ जना मारिएको’ आशयको जवाफ दिएका थिए ।

१०. सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्धमा गलत, भ्रामक वा पूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरेको भन्दै नेपाल जनसेवा पार्टीको तर्फबाट भक्तपुर २ की उम्मेदवार जानुका पाठक (शोभा)लाई स्पष्टीकरण ।

११. मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकाले कारबाही गरिपाऊँ भन्ने उजुरीको आधारमा एमाले भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई स्पष्टीकरण ।

१२. दलको लोगो, दलको नाम, चिह्न र उम्मेदवारको फोटोअंकित टिसर्ट लगाई बालबालिकालाई प्रयोग गरेको भन्ने श्रव्यदृश्यको प्रमाणसहित परेको उजुरीका आधारमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई स्पष्टीकरण ।

१३. कांग्रेस सुनसरी ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्ता गराउने क्रममा सहभागी भएको भिडियोको आधारमा कोशी प्रदेशका उद्योगमन्त्री इस्राइल मन्सुरीसँग स्पष्टीकरण ।

१४. उम्मेदवारी मनोनयनमा बाजागाजासहित समूह लगेको भिडियोको आधारमा रास्वपा ओखलढुंगाका उम्मेदवार विश्वराज पोखरेललाई स्पष्टीकरण ।

१५. आचारसंहिताविपरीत करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरेको, परीक्षाफल प्रकाशनको तयारी गरेको उजुरीका आधारमा पूर्वाञ्चल विश्वविद्यालयलाई आयोगको स्पष्टीकरण ।

१६. यस्तै कांग्रेसको तर्फबाट दैलेख १ का उम्मेदवार वासना थापा र २ का उम्मेदवार दिक्पालकुमार शाहीका लागि रुख चिह्नमा मत माग्दै आफ्नो फेसबुकमा पोस्ट गरेको उजुरीका आधारमा दैलेख भैरवी–३ स्थित देउती आधारभूत विद्यालयका शिक्षक देवीराम आचार्यलाई स्पष्टीकरण ।

१७. यस्तै औतारी धर्मगुरु रिन्पोछेलाई बर्खास्त गर्न लागेको उजुरीका आधारमा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई पनि स्पष्टीकरण ।

१८. ट्रेड युनियनको अधिवेशन गर्न लागेकाले रोकिपाऊँ भन्ने उजुरीका आधारमा नेपाल स्वास्थ्य स्वयंसेवक संघलाई स्पष्टीकरण ।

१९. विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने उजुरीका आधारमा वीरगन्जको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई स्पष्टीकरण ।

२०. आचारसंहिताविपरीत एन्फा निर्वाचन गर्न लागेको भन्दै एन्फालाई स्पष्टीकरण ।

२१. यसै विषयमा राष्ट्रिय खेलकुद परिषद्लाई पनि स्पष्टीकरण ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img