काठमाडौं, काठमाडौं उपत्यकामा ग्यासको अभाव देखिएको छ। नेपाल, एभरेस्ट, श्रीलगायतका ग्यास नपाएको उपभोक्ताको गुनासो छ। ग्यासको अभावका बारेमा जानकारी आएपछि अभाव हुन नदिने गरी व्यवस्था मिलाउन नेपाल आयल निगमलाई निर्देशन दिइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
‘बजारमा ग्यासको अभाव भएको जानकारी आएको हो। यस सम्बन्धमा नेपाल आयल निगमलाई मन्त्रालयले अभाव नगराउन निर्देशन दिएको छ। निगमले जाडो याममा अलीअली नपुग भएको जस्तो देखिए पनि अभाव हुन दिन्नौं भनिसकेको छ’, मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने। यता नेपाल आयल निगम निर्वाचनका कारणले नै ग्यास नभएको बताउँछन्। निगमका उपकार्यकारी निर्देशक नागेन्द्र साह नेपालकोे निर्वाचनलगायत आन्तरिक कारणभन्दा रिफाइनरी तथा बोटलिङ प्लान्टको नियमित मर्मतका कारण अहिले उपत्यकामा ग्यास अभाव देखिएको बताउँछन्।
नेपालमा मथुरा, बरौनी, हल्दिया, कर्नाल र पारादिपबाट ग्यास आयात हुने गरेको छ। ५८ उद्योगले भारतबाट आयातित एलपीजी नेपालमा वितरण गर्छन्। ‘काठमाडौंबाट सबैभन्दा नजिकको रिफाइनरी स्टेसन बरौनी हो, त्यहाँको नियमित मर्मतका कारण भारतको उडिसाको पारादिपबाट ग्यास ल्याउनुपर्ने भयो। त्यहाँबाट ग्यास बुलेटलाई काठमाडौं आउन ७ देखि १० दिन लाग्ने भयो। त्यही बीचमा ग्यास केही अभाव भएको देखिएको हो,’ निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन्। अनावश्यक हल्लाका कारण ग्यास अभाव भनेर आवश्यक नभएको मानिसले पनि होल्ड गरिदिँदा बजारमा ग्यासको थप अभाव देखिएको प्रवक्ता ठाकुरको भनाइ छ।
भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने परिमाण ४९ हजार ५ सय मेट्रिकटन रहेको छ। सन् २०२५ को नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिकटन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिकटन र जनवरी, २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिकटन ग्यास भारतबाट आयात भएको छ।
अहिलेको मासिक खपत करिब ४६ हजार मेट्रिकटन छ भने दैनिक खपत करिब १५ सय मेट्रिकटन (७०–७५ बुलेट ग्यास) रहेको छ। नेपालमा करिब १ करोड ७० लाख ग्यास सिलिन्डर बिक्री वितरण भइरहेका छन्। आयात र खपतको परिमाणलाई दाँज्दा पनि जाडोयामको माग धान्न पुग्ने परिमाण भएको निगमले जनाएको छ।
हाल बजारमा केही उद्योगको ग्यास सिलिन्डर अभाव देखिएको छ। निगमले ती उद्योगलाई बजारमा सिलिन्डरको आपूर्ति सहज गराई बजार सामान्यकरण गर्न निर्देशन दिई सकिएकाले केही समयभित्रै सामान्यकरण हुने जनाएको छ। बजारमा एलपीजीको हालको अवस्था तथा आसन्न निर्वाचनलाई मध्यनजर गरी निगमले फेब्रुअरी २०२६ का लागि साविकको परिमाणमा २ हजार मेट्रिक टन थप गर्ने निर्णय गरेको छ।
अब मासिक ५१ हजार मेट्रिकटन ग्यास आयात हुने छ। सोहीबमोजिम भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्ने गरी जानकारी गराइसकिएको प्रवक्ता ठाकुरले बताए।