काठमाडौँ, आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका तयारी सम्बन्धमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री खनालले मंगलबार गोरखा जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका हुन् ।
अनुगमनका क्रममा अर्थमन्त्री खनालले जिल्लाको निवार्चन तयारी सम्बन्धमा जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थिति तीनवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्थालगायतका विषयमा जानकारी लिएका थिए ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गोरखा जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका कुनै पनि उजुरी नपरेको, २३ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्नु पर्ने अवस्था रहेको र ८३ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको विषय अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका थिए । सो क्रममा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन बेल्वासे, जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेकबहादुर कोइरालाले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमनपश्चात् अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि बढेको बताए । स्थानीयस्तरमा राजनीतिक दलहरुबीच निर्वाचनका क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको उनको भनाइ थियो ।