सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगाडि र परिणामपछि गठबन्धन गर्ने विगतको राजनीतिक अभ्यास रहे पनि यसपटक नेताहरू चुनावमै गठबन्धन गर्न गुप्त संवादमा छन् । उनीहरूबिचको संवादले आकार ग्रहण गरेको छैन र तत्तत् पार्टीका नेताहरूले गठबन्धन स्वीकार्य नरहेको प्रतिक्रिया दिएका छन् । जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक शक्तिसन्तुलन तथा नयाँ र पुराना भन्ने भाष्यबिच २१ फागुनमा हुन थालेको प्रतिनिधिसभा निर्वाचनमा विघटित संसद्का ठुला दलहरू दबाबमा छन् । तर, आपसी अविश्वास र मतदान थप भड्किन सक्ने सम्भावित जोखिमका कारण उनीहरू खुलेर तालमेल वा सहकार्यको कोर्समा जान सकेका छैनन् ।
एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी सहकार्यको प्रस्ताव गरेको छ । एमाले अध्यक्ष केपी ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सहकार्यको प्रस्ताव गरेका हुन् । सुरुमा सूत्रमार्फत, त्यसपछि टेलिफोनमा र केही दिनअघि भेटेरै ओलीले सहकार्यको प्रस्ताव राखेको स्रोतले बताएको छ । प्रचण्डले हालैको एक अन्तर्वार्तामा भेटघाट भएको पुष्टि गरेका छन् ।
१६४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा भइसकेका र पार्टीको पक्षमा देशव्यापी माहोल बनेको भन्दै आफूले सहकार्यको प्रस्ताव अस्वीकार गरेको प्रचण्डको दाबी छ । ओलीले देशव्यापी रूपमा नभए पनि केही क्षेत्रमा चुनावी सहकार्य गरेर जान सकिने प्रस्तावसमेत गरेका थिए । झापा ५ मा रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन शाहलाई उतारेपछि ओली व्यक्तिगत रूपमा पनि परम्परागट सिट जोगाउैपर्ने उच्च दबाब र जोखिममा छन् ।
स्रोतका अनुसार ओलीले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग पनि सहयोगको आग्रह गरेका छन् । केही दिनअघि संसद् पुनस्र्थापना र निर्वाचन दुवै परिस्थितिको विषयमा ओली र देउवाबिच छलफल भएको स्रोतले बताएको छ । ११ माघको राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेस–एमालेबिच गठबन्धन बनेको थियो । जेन–जी आन्दोलन हुँदा कांग्रेससहितको गठबन्धनमा ओली प्रधानमन्त्री थिए । विशेष महाधिवेशनबाट कांग्रेसमा नेतृत्व बदलिएको छ । तर, आधिकारिता विवादमा देउवा पक्ष अदालत पुगेको छ ।
शीर्ष नेताहरूबिच लगातार संवाद भइरहेको पाइए पनि कांग्रेस, एमाले र नेकपाका नेताहरूले भने चुनावी तालमेल वा सहकार्यको विषय अस्वीकार गरेका छन् । यति मात्र होइन राप्रपाले पनि गठबन्धनको सम्भावनालाई अस्वीकार गरेको छ । विगतमा एमाले र राप्रपाबिच ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केही सिटमा तालमेल हुने गरेको थियो ।
एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै चुनावी सहकार्यको सम्भावना नरहेको बताए । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा गुरुङले राजनीतिमा असम्भवबाट सम्भव पनि हुने बताए । ‘राजनीतिमा असम्भवबाट सम्भव पनि हुन्छ । दुई–चार दिनमै कोर्स परिवर्तन पनि हुन सक्छ । हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय होइन,’ गुरुङले भने ।
गुरुङले चुनावी सहकार्यका लागि गत २३ र २३ भदौको घटनालाई हेर्ने दृष्टिकोणमा समानता आउनुपर्नेमा जोड दिए । ‘हामीले प्रतिगमन भनिरहेका छौँ । उहाँहरू (नेकपा)ले क्रान्तिकारी काम भन्नुभएको छ । उहाँहरू र हाम्रो राजनीतिक दृष्टिकोण उत्तर र दक्षिणको जस्तो छ । त्यसैले अहिले तालमेल सम्भावना देख्दिनँ,’ गुरुङले भने । उनले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको दाबी पनि गरे ।
कांग्रेस प्रवक्ता देवराज चालिसे चुनावी गठबन्धनको पक्षमा कांग्रेस नभएको बताए । महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको र केन्द्रीय समिति हुँदै विशेष महाधिवेशनले अनुमोदन गरिसकेको स्थितिमा कांग्रेसले चुनावी गठबन्धनबारे सोच्न पनि नसक्ने उनले दाबी गरे । ‘जुन कारण (चुनावी गठबन्धन)ले पार्टीमा विचलन आयो, पार्टीमा क्षति भयो । त्यसकारण हामी चुनावी गठबन्धनको कुरा बिर्सन चाहन्छौँ,’ उनले भने, ‘गठबन्धन नगर्ने भन्ने महासमितिको निर्णय हो । केन्द्रीय समिति र विशेष महाधिवेशनले त्यसलाई अनुमोदन गरेको छ । हामीले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ, कहीँ कसैसँग चुनावी गठबन्धन हुँदैन ।’
चुनावी परिणामपछि सरकार सञ्चालनका लागि भने गठबन्धन हुन सक्ने उनले बताए । ‘हामी एक्लै बहुमत ल्याउने गरी चुनावी मैदानमा खटिएका छौँ । निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन सकेनौँ भने चुनावपछि गठबन्धनबारे छलफल हुन सक्छ,’ चालिसेले भने । देउवा र ओलीबिचको भेटबारे चालिसेले भने, ‘व्यक्तिगत भेटघाटलाई राजनीतिक विषय जोड्न आवश्यक हुँदैन ।’
नेकपाका प्रचार संयोजक अग्नि सापकोटा चुनावी सहकार्यको प्रस्ताव आए पनि नेकपाले अस्वीकार गरेको बताउँछन् । ‘हामीले १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ । हामी वस्तुवादी, वैज्ञानिक र तथ्यका आधारमा अगाडि बढेका छौँ । देशैभरि नेकपाको पक्षमा माहोल बनेको छ । त्यसैले अहिले चुनावी तालमेलको कुनै सम्भावना छैन । तालमेलको प्रस्ताव हाम्रोतर्फबाट स्वीकार्य छैन,’ सापकोटाले भने ।
अहिले ओली सबैभन्दा धेरै संकटमा छन्, उनले सहकार्यको प्रस्ताव गर्नु अनौठो होइनःरोशन जनकपुरी, विश्लेषक
अहिले सबैभन्दा बढी दबाब र संकटमा कोही छ भने एमाले र एमाले अध्यक्ष केपी ओली नै हुन् । सबैतिरबाट आलोचित हुनुपर्ने र विपक्षमा सबैतिर माहोल बनेको स्थितिमा उनले सहकार्यको प्रस्ताव गर्नु अनौठो होइन । यो ओलीको स्वभाव पनि हो । विगतमा पनि अप्ठ्यारो पर्दा उनी सहकार्यका लागि तयार भएको उदाहरण छ । उनी अहिले ‘डिफेन्सिभ’ देखिन्छन् । ओलीले चुनावी सहकार्यको प्रस्ताव गरेको भए पनि अरूले कति विश्वास गर्छन् भन्ने प्रश्न पनि छ । नेकपा बनेको स्थिति र अहिले प्रमुख दलका शीर्ष नेताहरूमध्ये यो निर्वाचनमा प्रचण्ड अलि सहज देखिन्छन् । कांग्रेसमा शेरबहादुर देउवा बाहिरिएका छन् । अहिले एमालेसँग तालमेल गर्दा भएको जनमत पनि भड्किन्छ भन्ने अन्य दलका नेताहरूमा परेको छ । यस्तो अवस्थामा प्रचण्डले ओलीको प्रस्ताव स्विकार्ने स्थिति देखिँदैन । त्यही कारण नेकपा मात्रै होइन, राप्रपाले पनि एमालेसँग तालमेल नगर्ने बताइरहेको छ । अस्तित्व संकटको लडाइँमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत एमालेसँग तालमेल अस्वीकार गर्नु अर्थपूर्ण नै छ । राजनीति हो फेरि असम्भव भन्ने त के हुन्छ र ? नयाँ पत्रिकामा खवर छ।