काठमाडाैँ, प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमै निर्वाचन हुने स्पष्ट पार्दै यसबारे कुनै शंका नगर्न सबैलाई आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाइ कार्यको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचन प्रक्रिया योजनाअनुसार नै अघि बढिरहेको बताइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने जानकारी दिँदै नागरिकहरूलाई ढुक्क र निश्चिन्त रहन आग्रह गरिन्। निर्वाचनका बेला देशभरको मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले सबै मतदाताले सहज र निर्बाध रूपमा मतदान गर्न पाउने बताइन्।
निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरेर वर्तमान सरकार आफ्नो जिम्मेवारीबाट अलग हुने पनि उनले स्पष्ट पारिन्। ’निर्वाचन तोकिएकै दिन हुन्छ, दुई चरणमा हुँदैन। मौसम पनि अनुकूल हुनेछ। हामी मतदान गर्छौँ, प्रतिनिधिसभालाई सत्ता सुम्पन्छौँ र घर फर्कन्छौँ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै आयोगप्रति आभार व्यक्त गरिन्।