काठमाडाैँ, प्रधानमन्त्री सुशीला कार्कीले नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सुनिल थापाको असामयिक निधनले आफू गहिरो दुःखी भएको बताएकी छन्।
अभिनेता थापाको निधनसँगै नेपाली तथा भारतीय चलचित्र उद्योगले एक सशक्त र बहुआयामिक कलाकार गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’ चलचित्रका राते काइँलादेखि ‘मेरी कोम’मा प्रशिक्षकको भूमिकासम्म उनले निभाएका खलनायक तथा सहनायक चरित्रहरूले करोडौँ दर्शकको मन जितेको स्मरण गरेकी छन्।
प्रधानमन्त्री कार्कीले जारी गर्नुभएको शोक सन्देशमा कलाकार थापाले निर्वाह गरेका हरेक चरित्र दर्शकको स्मृतिमा सधैँ जीवित रहने बताउनुभएको छ। साथै, चार दशकभन्दा बढी समयसम्म उनले देखाएको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत रहने उल्लेख गरिएको छ।
प्रधानमन्त्रीले दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्। अभिनेता सुनिल थापाको आज बिहान हृदयघातका कारण ६८ वर्षको उमेरमा निधन भएको हो।