विराटनगर, नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ पछिको आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा भ्रष्टाचार र कुशासनविरूद्ध ‘महासंग्राम’ सावित हुने बताएका छन्।पार्टी सभापति बनेपछि पहिलोपटक सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै एउटा व्यक्तिले आएर चमत्कार गर्छु भनेर भ्रष्टाचार नियन्त्रण हुँदैन। विगतमा संस्थाहरूलाई पङ्गु बनाएका छौँ। अब ती संस्थाहरूलाई बलियो बनाउँछौँ।’
उनले विधिको शासनमा कुनै सम्झौता नहुने दृढता व्यक्त गरेका छन्।‘कोही सत्ताको नजिक छ, लोकप्रिय छ भनेर कानुन फरक हुँदैन। कानुन सबैका लागि बराबर हुनुपर्छ,’ उनले भने।सभापति थापाले यो निर्वाचनमा कांग्रेसको पहिलो प्रतिबद्धता संविधानको निरन्तरता भएको बताए।‘यो संविधान धेरै संघर्ष र उतारचढावपछि आएको हो,’ उनले भने, ‘यसलाई तलमाथि गर्दा ठूलो मूल्य चुकाउनुपर्छ।’उनले संविधानभित्र सुधार आवश्यक भए पनि त्यो संवाद र सहमतिबाट मात्र सम्भव हुने बताए।
भदौ २३ र २४ का घटनालाई केवल आकस्मिक हिंसा नभई नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गर्दै कांग्रेसले मात्रै देश सम्हाल्न सक्ने दाबी उनले दोहोर्याए।उनले ती घटनापछि देखिएका राजनीतिक प्रतिक्रियालाई दुई प्रवृत्तिमा विभाजन गर्दै भने, ‘एउटा डिनायलको प्रवृत्ति देखियो—नागरिकमा असन्तुष्टि नै छैन भन्ने, सबैलाई षड्यन्त्र र घुसपैठ भन्ने। अर्को डिभिडेण्ड खाने प्रवृत्ति—नौजवानको ज्यान गएको घटनाबाट राजनीतिक मुनाफा खोज्ने। कांग्रेस यी दुवै प्रवृत्तिको खिलाफमा छ।’
‘कांग्रेस न अस्वीकार गर्छ, न मुनाफा खान्छ। कांग्रेसको क्यारेक्टर भनेको राष्ट्रिय ड्युटी पूरा गर्नु हो,’ उनले भने, ‘यो असन्तुष्टि किन भयो भन्ने प्रश्न कांग्रेसले सुन्छ।’सभापति थापाले भदौ २३ र २४ का घटनालाई गहिराइमा हेर्दा एउटा स्पष्ट सन्देश देखिने बताए।
‘सडकमा आएका नौजवान मात्र होइनन्, घरभित्र बसेका नागरिक पनि त्यो असन्तुष्टिमा सहभागी थिए। त्यो असन्तुष्टिलाई सुन्ने, बुझ्ने र जिम्मेवारी स्वीकार गर्ने साहस कांग्रेससँग छ,’ उनले भने, ‘कायरले कमजोरी स्वीकार गर्दैन, साहसीले स्वीकार गर्छ। हामी ऐना पुछेर सबै ठीक भयो भन्दैनौँ। अनुहारका दाग मेटेर अगाडि बढ्न चाहन्छौँ।’
थापाले कांग्रेसको इतिहास नै देश सम्हाल्ने निर्णयहरूको इतिहास भएको दाबी गरे।
‘२०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह ज्यान हातमा लिएर फर्कँदा आफ्नो पार्टी होइन, नेपालको अखण्डता पहिलो प्राथमिकता थियो,’ उनले स्मरण गरे, ‘माओवादीकालमा सबभन्दा बढी क्षति कांग्रेसले बेहोरेको थियो, तर देशलाई हिंसाबाट बाहिर निकाल्ने ड्युटी हामीले पूरा ग¥यौँ। २०७२ सालमा कांग्रेसले आफ्नो क्षति बेहोरेर भए पनि राष्ट्रिय सहमति रोज्यो। कांग्रेसले जित्न मात्रै होइन, देश सम्हाल्न जानेको छ।’सभापति थापाले बद्लिएको कांग्रेसलाई पुरानो फालेर नयाँ ल्याउने अवधारणासँग नजोड्न आग्रह गरे।‘कांग्रेस पुरानो पनि हो, नयाँ पनि हो। हामी यसलाई चेन्ज र कन्टिन्युटी भन्छौँ,’ उनले भने, ‘२००७ सालका नौजवानले ‘हाम्रो स्वतन्त्रता प्यारो छ भने, भाद्र २३ का नौजवानले ‘हामी बोल्न पाउनुपर्छ भने। आत्मा एउटै हो।’
थापाका अनुसार कांग्रेसको सबैभन्दा ठूलो शक्ति समाजका फरक–फरक समूहलाई जोड्ने क्षमता हो।‘पुस्ता–पुस्तालाई भिडाउन सजिलो हुन्छ, समुदाय–समुदायलाई भिडाउन सजिलो हुन्छ,’ उनले भने, ‘तर, सबैलाई मिलाएर अघि बढाउनु गाह्रो काम हो। कांग्रेससँग त्यो क्यारेक्टर छ।’उनले आगामी पाँच वर्ष कुनै पनि निर्दोष युवक सडकमा गोलीबाट नढल्ने र सिंहदरबार जल्ने अवस्था नआउने दाबी गरे।
सभापति थापाले पार्टीका नेता–कार्यकर्तालाई कोठाभित्र सीमित नहुन आग्रह गरे।‘सामाजिक सञ्जाल माध्यम हो, तर सबै कुरा होइन,’ उनले भने, ‘कांग्रेसको तागत संवादमा छ। घर–घर पुगेर संवाद गर्नुस्। आधा घण्टा समय निकालेर चिया खाएर कुरा गर्दा, कांग्रेसलाई भोट दिन्नँ भनेर बसेको मान्छे पनि फर्किन्छ।’