बुटवल,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।जिलाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले बुधबार गरेको हो ।
गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुकबाट ती कागजातहरू सार्वजनिक गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।भट्टराईले यसअघि पनि पटक पटक फेसबुकमार्फत व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ ।