नेपाली कम्युनिस्ट पार्टी सिन्धुली–२ का उम्मेदवार राजन दाहालले टिकट विवादमा आफूले पार्टीले गरेको संस्थागत निर्णय कार्यान्वयन गरेको बताएका छन्।काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै टिकट टुङ्गिएको दिनसम्म पनि हरिबोल गजुरेलसँग आफूले चार घण्टा छलफल गरेको बताए।
उनले भने, ‘मैले अध्यक्षलाई पनि पार्टीको निर्णय मान्छु भनेको थिए। हरिबोल गजुरेललाई पनि कार्यदलको बैठक बसिरहेको बेलामा चार घण्टा सँगै बसेका थियौँ। उहाँलाई मैले भनेको थिए, दाइ तपाईँ लड्ने भए टिकट लिएर आउनुहोला, म एकमा जाउँला भनेको थिए।’तर जवाफमा गजुरेलले अध्यक्षसँग बसेर लिखित सहमति गर्नुपर्ने बताएको सुनाए।
उनले भने, ‘उहाँले मलाई भन्नुभयो अध्यक्ष, तपाईँ र म बसेर लिखित सहमति गर्नुपर्छ। के लिखित सहमति? भन्दा जिताउने भन्नुभयो। मैले भनेँ जिताउने त जनताले हो तपाईँ जानुस् अध्यक्षसँग कुरा गर्नुस् भनेँ। अध्यक्षले मलाई बोलाउनुभयो भने म आउँछु। तर टिकट लिन चाहिँ आउँदिन, दाइ जानुस् भनेर सहज छलफल गरेर हामी निस्केका हौँ।’उनले पार्टीले महेश्वर दाहाललाई टिकट दिएको भएपनि आफू स्वीकार्ने सन्देश दिएको बताए।
उनले थपे, ‘मैले हरिबोल कमरेडलाई भनेँ हरिबोल कमरेड कि निर्णय सच्याउनुस्, कि कार्यान्वयन गर्नुस्। मेरो त्यति थियो। उहाँ (महेश्वर) कमरेडलाई नि भनेँ, तपाईँले लिखित, केही कार्यशैलीगत केही कमजोरी छन् भने लिखित प्रतिबद्धता जाहेर गर्नुप¥यो भन्नुभयो त्यो पनि मान्छु। म आरोप स्वीकार्दिनँ, लाञ्छना स्वीकार्दिनँ।’उनले पार्टीले गरेको निर्णय अनुसार जिम्मेवारी वहन गर्नु के अपराध हो? भन्दै प्रश्न गरे।
उनले थपे, ‘म पनि लड्छु भनेर एकपटक पनि न हरिबोल कमरेडले भन्नुभएको छ, न महेश्वरजीले भन्नुभएको छ। अब पार्टीले निर्णय ग¥यो, निर्णय कार्यान्वयन गर्ने प्रक्रियामा कहाँनेर चाहिँ विधि मिचियो? तल्लो कमिटी माथिल्लो कमिटी अधीनस्थ हुन्छ भन्ने कुरा त प्रस्ट थाहा छ।’
पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि नेकपाले हरिबोल गजुरेल र महेश्वरजी दाहाललाई पार्टीबाट निष्कासन गरिसकेको छ।