भक्तपुर आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ।जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने बताएका हुन्।
दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ। आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ।उनका अनुसार उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको हो। छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु भइसकेको छ।दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी जिल्ला जिल्लामा ढुवानी सुरु भइसकेको छ।