spot_img

बंगलादेशमा आन्दोलन गर्नेलाइ हाेइन पुरानै दल बिएनपीलाई दुईतिहाइ जनादेशःकाे हुन् तारिक रहमान जाे अबकाे प्रधानमन्त्री बन्दै छन्?

spot_img

सन् २०२४ मा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो प्रतिस्पर्धात्मक तथा तुलनात्मक रूपमा स्वतन्त्र मानिएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले दुईतिहाइ बहुमतसहित ऐतिहासिक विजय हासिल गरेको छ । यो परिणामलाई लामो राजनीतिक असन्तोष, युवा आन्दोलन र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्तिका रूपमा विश्लेषण गरिएको छ । डेढ वर्षअघि नागरिक विद्रोहले शेख हसिना नेतृत्वको सरकार ढालेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो । सन् २००९ देखि निरन्तर सत्तामा रहेकी हसिना विद्यार्थी आन्दोलनको दबाबपछि पदमुक्त भई हाल भारतको नयाँदिल्लीमा निर्वासनमा छिन् ।

निर्वाचनबाट करिब दुई दशक प्रताडित भएको र दबिएको बिएनपी उदाएको छ । १३औँ संसदीय निर्वाचनको परिणामलाई बंगलादेशको राजनीतिमा नयाँ अध्यायको प्रारम्भका रूपमा हेरिएको छ । वर्षौँसम्म प्रतिस्पर्धाविहीन चुनावको आरोप झेलेको देशमा यसपटक तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।

बिएनपीले २९९ सिटमध्ये २१२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । निर्णायक विजयसँगै पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनी अर्को साता पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन् ।

बिएनपीको विजयका पछाडि लामो समयदेखिको राजनीतिक असन्तोष, भ्रष्टाचार र कुशासनविरुद्धको जनआक्रोश, जनमुखी एजेन्डा, अवामी लिगमाथि प्रतिबन्ध, उच्च मतदान सहभागिता र गठबन्धनको प्रभावलाई मुख्य कारण मानिएको छ । विश्लेषकहरूका अनुसार विद्यार्थी आन्दोलनले भयको राजनीति तोड्दै मतदातालाई विकल्प रोज्ने मनोबल दिएको थियो । यद्यपि, पूर्वसत्तारूढ अवामी लिगले निर्वाचन निष्पक्ष नभएको आरोप लगाउँदै परिणाममाथि प्रश्न उठाएको छ । यसले संक्रमणकालीन राजनीतिक तनाव अझ केही समय कायम रहने संकेत दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई बंगलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण लोकतान्त्रिक मोडका रूपमा चित्रित गरेका छन् । उनीहरूले विद्यार्थी आन्दोलनलाई परिवर्तनको आधारशक्ति मानेका छन् । साथै, नयाँ सरकारका लागि आर्थिक पुनर्निर्माण, लगानी पुनः आकर्षण र रोजगारी सिर्जना प्रमुख चुनौती हुने उल्लेख गरेका छन् ।

दक्षिण एसियादेखि विश्वका प्रमुख देशहरूले बिएनपीको विजयलाई स्वागत गरेका छन् । भारत, चीन, अमेरिका, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले नयाँ नेतृत्वसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन् । भारतसँग चार हजारभन्दा धेरै किलोमिटर खुला सीमा जोडिएको बंगलादेशका लागि नयाँ चरणमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने अवसर आएको छ ।

बंगलादेशका लागि पूर्वराजदूत तथा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले बंगलादेशमा निर्वाचनमार्फत मूलधारको परिपक्व तथा स्थापित राजनीतिक दलले सरकार गठन गर्न लागेको टिप्पणी गरे । ‘अतिवादी शक्तिलाई बंगलादेशका जनताले मन पराएनन्, अनुभवी दललाई उनीहरूले छानेका छन् । बंगलादेशको राजनीतिक स्थिरता र क्षेत्रीय स्थिरताका लागि यो सकारात्मक परिस्थिति हो,’ आचार्यले भने, ‘भारतसँग उनको सम्बन्धले सार्क प्रक्रिया अघि बढाउन पनि सहयोग पुग्छ । यसमा उनको भूमिका महत्वपूर्ण हुन्छ ।’

बंगलादेशका लागि नेपाली पूर्वराजदूत डा वंशीधर मिश्रले बंगलादेशमा जनताले राजनीतिक स्थिरताका पक्षमा फैसला गरेको टिप्पणी गरे । ‘बंगलादेशमा विकास र समृद्धि भयो, तर लोकतान्त्रिक मूल्य–मान्यता लत्याएर अवामी लिगले अधिनायकवादी शासन सञ्चालन गरेको थियो । तर, जनताले अतिवादी सोच र समूहलाई अस्वीकार गरेको छ,’ पूर्वराजदूत मिश्रले भने । बंगलादेशमा बढ्दो इस्लामीकरणको चिन्ता हटेको छ, तर अल्पसंख्यक हिन्दुहरूको सुरक्षाबारे अझै अनिश्चय कायम छ । ‘बंगलादेशका जनताले स्थापित र संस्थागत पार्टीलाई जिताएका छन् । अतिवादीकरणको चिन्ता अहिलेलाई साम्य भएको छ र राजनीतिक स्थिरता सुनिश्चित हुने संकेत देखिएको छ,’ पूर्वराजदूत मिश्रले भने ।

नेपालमा प्रजातन्त्र स्थापना (२००७) को २० वर्षपछि जन्मिएको बंगलादेशले यस वर्ष १३औँ संसदीय निर्वाचन सम्पन्न गरेको छ । बंगलादेश दक्षिण एसियाको कान्छो देश हो । यसअघि २२ पुस ०८० मा सम्पन्न १२औँ संसदीय निर्वाचनमा अवामी लिगलाई दुईतिहाइ मत प्राप्त भएको थियो । २६ मार्च १९७१ पाकिस्तानबाट स्वतन्त्र भएको बंगलादेशले राजनीतिक र सैन्य विद्रोह तथा आन्दोलनको सामना गर्दै आएको छ

सन् २००९ देखि अविच्छिन्न रूपमा सत्तामा रहेकी हसिना २१ साउन ०८१ को विद्यार्थी विद्रोहको बलमा सत्ताच्युत भएर भागेकी थिइन् । उनी हाल नयाँदिल्लीमा निर्वासित जीवन व्यतीत गरिरहेकी छिन् । विद्यार्थी विद्रोहले सत्ता परिवर्तन गरेसँगै अन्तरिम सरकारले निर्वाचन गराएको छ भने देशको स्वतन्त्रताका लागि लडेको खानदान परिवार र दल उसकै कारण किनारामा परेको छ ।

नागरिक विद्रोहपछि गठित मोहम्मद युुनुस नेतृत्वको अन्तरिम सरकारले प्रतिबन्ध लगाएको अवामी लिग पार्टी नेतृ हसिनाको शासन ढलेपछि बंगलादेशले स्थापित र पुरानो दललाई सरकारको नेतृत्व सुम्पिने तयारी गर्दै छ । बिएनपीले यसअघि दुईपटक सरकारको नेतृत्व गरेको छ ।

बंगलादेश जमात ए इस्लामी तथा नागरिक विद्रोहको नेतृत्वकर्ताले खोलेको नेसनल सिटिजन्स पार्टी (एनसिपी)सहित ११ दलीय गठबन्धनले जम्मा ७७ सिट पाएको छ । एनसिपीले जम्मा ६ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

कुनै समय गरिबीमा फसेको, अस्थिर राजनीति भएको, सबैतिरबाट हेपिएको देशले २०२४ अगस्टसम्म दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक दर हासिल गरेको थियो । तर, लोकतान्त्रिक संस्कार, पारदर्शिता अभाव, कुशासनका कारण समृद्धिको वाहक हसिना सरकार ढलेको थियो । २०२४ अगस्टसम्म आइरन लेडीको उपमा पाएकी हसिनाले गरिब देशबाट बंगलादेशलाई एसियाको उदाउँदो बाघ (राइजिङ टाइगर)सम्म बनाएकी थिइन् । उनको निरंकुश शैलीले त्यो बिरासतलाई बंगलादेशमा अहिले मेटाइदिएको छ ।

तारिकलाई नेपाल, भारत र विश्वकै बधाई
भावी प्रधानमन्त्री एवं बिएनपीका अध्यक्ष तारिक रहमानलाई दक्षिण एसियादेखि विश्वभरबाट बधाई सन्देश व्यक्त भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा विजयका लागि तारिकलाई बधाई दिँदै उनीसँग सहकार्य गर्ने जनाएकी छिन् । निर्वाचन परिणामलाई उल्लेखनीय विजयको संज्ञा दिँदै कार्कीले आपसी हितका विविध क्षेत्रमा बंगलादेशसँग अझ नजिकको सहकार्यको अपेक्षा व्यक्त गरेकी छिन् ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमा र ट्विटमा बधाई दिएका छन् । पार्टीलाई निर्णायक विजय दिलाएकोमा तारिकलाई मोदीले बधाई दिँदै भनेका छन्, ‘यो विजयले बंगलादेशी जनताले तपाईंको नेतृत्वप्रति गरेको विश्वास झल्काएको छ । भारत बंगलादेशमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा निरन्तर उभिरहनेछ ।’

सरकारबाट हसिनाको बहिर्गमनपछि भारत र बंगलादेशबिच बिग्रेको सम्बन्ध पुनस्र्थापना हुने विश्वास गरिएको छ । भारतसँग बंगलादेशको चार हजार ९६ किलोमिटर सीमा जोडिएको छ । बंगलादेशको पश्चिम, उत्तर र पूर्वी सिमाना भारतसँग जोडिएको छ, दक्षिण–पूर्वी सिमाना म्यानमारसँग र दक्षिण बंगालको खाडीको तटीय क्षेत्रमा जोडिएको छ ।

चीनले बंगलादेशसँगको समग्र रणनीतिक सहकार्यको साझेदारी एवं स्थिर विकासलाई कायम राख्न सहकार्य गर्न तयार रहेको जनाएको छ । शुक्रबार जारी वक्तव्यमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बंगलादेशसँग सहकार्य अझ मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धलाई गहिरो बनाउन बेइजिङ इच्छुक रहेको बताएका छन् ।

ढाकास्थित अमेरिकी दूतावासले ‘ऐतिहासिक विजय’का अवसरमा बिएनपी र अध्यक्ष तारिकलाई बधाई दिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले सानदार विजय भएको भन्दै बिएनपी अध्यक्ष तारिकलाई बधाई दिएका छन् । उनले नयाँ बंगलादेशी नेतृत्वसँग नजिकबाट सहकार्य गर्दै ऐतिहासिक, भ्रातृभावपूर्ण तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन् । साथै, दक्षिण एसिया र बाहिर शान्ति, स्थिरता र विकासका साझा लक्ष्य अघि बढाउने पनि उनको प्रतिबद्धता छ ।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बंगलादेशी मतदाताले तारिक रहमानप्रति देखाएको विश्वासको सम्मान गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ गर्न आतुर रहेको बताएका छन् ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले चुनावी सफलताको प्रशंसा गर्दै दीर्घकालीन मित्रता र सहकार्यलाई अझ गहिरो बनाउने आशा व्यक्त गरेका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बंगलादेशको जनादेशलाई प्रभावशाली भन्दै तारिक नेतृत्वप्रति विश्वास प्रकट गरेका छन् । भारतमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायतले बधाई दिएका छन् ।

बिएनपीका अध्यक्ष तारिक रहमान अबका प्रधानमन्त्री

को हुन् तारिक ?
बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)को निर्णायक विजयसँगै अध्यक्ष तारिक रहमान बंगलादेशका प्रधानमन्त्री हुने निश्चित भएको छ । बंगलादेशमा २९ माघमा भएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले दुईतिहाइ मत पाएसँगै अर्को साता सरकार गठनको तयारी थालेको छ ।

बिएनपी अध्यक्ष रहमानले अर्को साता प्रधानमन्त्रीको शपथ लिँदै छन् । रहमान १७ वर्ष बेलायतमा निर्वासनपछि गत वर्ष स्वदेश फर्किएका थिए । उनका पिता जियाउर रहमानले सन् १९७८ मा पार्टी स्थापना गरेका थिए भने उनकी आमा वेगम खालिदा जिया दुईपटक प्रधानमन्त्री बनेकी थिइन् ।

जियालाई अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजायको फैसला सुनाएपछि तारिक सन् २०१८ देखि बिएनपीको कार्यवाहक अध्यक्ष थिए । यस वर्ष जियाको निधनपछि तारिक पार्टी अध्यक्ष भएका थिए । उनी बंगलादेशका सातौँ राष्ट्रपति जियाउर रहमानका जेठा छोरा हुन् । बंगलादेशमा हसिनाको सत्ता ढलेकै दिन बिएनपी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री जिया रिहा भएकी थिइन् ।

प्रधानमन्त्रीका रूपमा ६० वर्षीय तारिकले बंगलादेशको नेतृत्व सम्हाल्न लागेका छन् । उनी सन् २००९ मा बिएनपीको वरिष्ठ उपाध्यक्ष, सन् २०१८ देखि कार्यवाहक अध्यक्ष तथा यस वर्ष उनकी आमा वेगमको निधनपछि पार्टी अध्यक्ष भएका छन् । उनको नेतृत्वमा बिएनपीले दुईतिहाइ मत प्राप्त गरेको हो ।

रहमान २००१ मा बिएनपीमा सक्रिय भएका थिए । बिबिसीका अनुसार २००२ मा तारिकले आफ्ना अभिभावकको राजनीतिक पदचापमा पछ्याउँदै पार्टी राजनीतिमा सक्रियता जनाए ।

२००७ मा सैन्य समर्थित कामचलाउ सरकारको समयमा भ्रष्टाचार आरोपमा तारिक पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको उनको भनाइ थियो । उनी १८ महिना जेल बसेर रिहा भएका थिए । रहमान १७ वर्षपछि २५ डिसेम्बर २०२५ मा बंगलादेश फर्किए र पाँच दिनपछि उनकी आमा जियाको निधन भयो ।

बिएनपीले विगतमा बंगलादेशमा दुईपटक सरकारको नेतृत्व गरेको छ । यो पार्टी सन् १९७८ मा पूर्वराष्ट्रपति जियाउर रहमानले स्थापना गरेका थिए । उनले आफ्नो राष्ट्रपतिकालमा बंगलादेशी राष्ट्रवादी राजनीतिक विचारधारा अघि सारेका थिए भने बजारमुखी आर्थिक सुधारको सुरुवात गरेका थिए ।

सन् १९८१ मा जियाउरको हत्या भएपछि पार्टीको नेतृत्व उनकी पत्नी वेगम खालिदा जियाले गरेकी थिइन् । उनी दुईपटक (१९९१–१९९६ र २००१–२००६) प्रधानमन्त्री भइन् । सन् १९९१ मा सैन्य कुपछि बंगलादेशमा संसदीय लोकतन्त्र पुनस्र्थापना गरेको श्रेय पनि उनलाई जाने गरेको छ । यद्यपि, त्यसवेला भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कमजोर संस्थागत नियन्त्रण भएकोलगायत आरोप लाग्ने गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img