काठमाडाैँ,नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन ८ गते शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा आयोजना हुनेछ।
बैठकमा पार्टीभित्र देखिएको पछिल्लो आन्तरिक अवस्था, अनुशासनसम्बन्धी प्राप्त उजुरीहरू तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। हालैका गतिविधि र नेताहरूबिच देखिएको मतभेदलाई मध्यनजर गर्दै समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ।
विशेषगरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा बस्न लागेको यस बैठकलाई अर्थपूर्ण रूपमा लिइएको छ। निर्वाचनअघि पार्टीभित्र अनुशासन कायम राख्ने, उम्मेदवार र कार्यकर्तालाई स्पष्ट सन्देश दिने तथा संगठनात्मक एकता मजबुत बनाउने उद्देश्यले बैठक बोलाइएको स्रोतले जनाएको छ।