काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन्।ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन आग्रह गरेका हुन्।
उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। नेपाली मौलिक पहिचानलाई अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले सुशासन र समृद्धिबाटै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने धारणा राखे। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधताबीच आफ्नै विशिष्ट परम्परा, संस्कृति र सभ्यता बोकेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे।
शताब्दीयौँदेखि हिमाली क्षेत्रबाट फैलिएको शेर्पा समुदायले विश्वभर आफ्नो पहिचान स्थापित गर्दै नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुसीको विषय भएको उनले बताए। ग्याल्पो ल्होछार फागुन ६ गते मनाइँदै छ।