रुकुमपूर्व, चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबिच प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।
पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।उनले विशेष गरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरे ।
उनका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक सङ्केत हो। “गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,” उनले चेतावनी दिए ।
त्यस्तै २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उनले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे ।प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए ।