काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन्।बिहीबार कर्णालीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताएका हुन्। उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्रमाथिको खतरा हेलिकप्टरबाट भागेसँगै टरेर गएको बताए। भागेको हेलिकप्टर फेरि सिंहदरबारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने उनको भनाइ थियो।
उनले लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासँग प्रतिस्पर्धामा उत्रिन पनि आग्रह गरे। उनले रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति दिन सरकारसँग माग गरे।
निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरु लागेको उनको भनाइ छ। उनले निर्वाचन निकास नदिने भएकोले सार्नुपर्छ भन्ने आवाज सुनेको उल्लेख गर्दै चुनावले निकास दिँदैन भने केले निकास दिन्छ? भन्ने प्रश्नसमेत गरे।
उनका अनुसार लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति नै जनताको मताधिकार हो। सभापति लामिछानेले आफूहरुले आन्दोलनभन्दा पनि मतमार्फत परिवर्तन चाहेको स्पष्ट पारे।