काठमाडाैँ, अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ गते प्रतिनिधिसभा सदस्य चुनाव हुँदैन कि भन्ने संशय हटेको बताउनुभएको छ ।
पर्यटन बोर्ड र परिसूचक मिडियाले आज काठमाडाैँमा आयोजना गरेको ‘नेपाल पर्यटन गोष्ठी’ मा अर्थमन्त्री खनालले चुनाव गराउन बनेको सरकारलाई शुरुआती दिनहरूमा अनेकौँ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि देशमा चुनाव हुने बाटो बनेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो सरकार बनेको ५–६ हप्तासम्म चुनाव हुँदैन कि भन्ने संशय हटेको छ । जेलबाट कैदीहरू निस्केका छन् । हतियारहरू बाहिर छन् । यस्तो अवस्थामा यो सरकारले कसरी चुनाव गराउन सक्ला भन्ने एउटा ठूलो संशय थियो । अत्यन्तै संयमतापूर्वक कुनै प्रतिरोध नगरि त्यो संशयलाई मेटाउन ठूलो चुनौती थियो ।’
अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको छ ।