काठमाडाैँ, प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेश पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएकी छिन्। मुस्ताङ र कास्की पुगेर उनले शुक्रबार ब्रिफिङ लिएकी हुन्।
सुरक्षा र मौसमले निर्वाचनमा समस्या नभएको सरकारी अधिकारीहरूले उनलाई जानकारी गराएका छन् । हाल मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकाले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने ब्रिफिङका क्रममा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। राष्ट्रलाई निकास दिने माध्यमका रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोमलगायतका क्षेत्रको अवलोकन गरिन्। उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती तथा विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो।
हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि आवश्यक औषधि, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिएकी छिन्। प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गरेकी छिन्।
शान्तिसुरक्षाको कुनै समस्या नरहेको स्थानीय अधिकारीहरूको भनाइ थियो । सहर झरेका मतदाता अरू वेला चैतमा फर्किने गरेका भए पनि यसपालि निर्वाचनकै कारण महिना दिनअगावै फर्किरहेको जानकारी प्रधानमन्त्रीलाई दिइएको छ ।
मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री कार्कीले पोखराको विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा उच्चस्तरीय बैठकमा सहभागी भइन्।
बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासे, नेपाल प्रहरीका डिआइजी दीपेन्द्र जिसी, सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतको उपस्थिति थियो।
प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदानस्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए ।
बैठकमा प्रस्तुत जानकारीअनुसार राजनीतिक दलहरूमा निर्वाचनप्रति उत्साह देखिएको छ । मतदातामा पनि जागरण छ । आचारसंहिता पालनाका सन्दर्भमा सम्झाउने र सहकार्यको वातावरण रहेको छ । उग्र गतिविधि कम भएको तथा प्रचारप्रसार शान्तिपूर्ण, शिष्ट र मितव्ययी ढंगले भइरहेको सुरक्षा अधिकारीहरूले जानकारी गराएका छन्।
यद्यपि, केही समूहले सामाजिक सञ्जालमार्फत बहिष्कारका नाममा वातावरण धमिल्याउन प्रयास गरेको विषय पनि उठेको छ ।
गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २९ जना महिला उम्मेदवार रहेका छन् । प्रदेशभर १,२६९ मतदान स्थल तोकिएका छन्।