डाेल्पामा निर्वाचन कार्यालय र पत्रकार भेटघाट कार्यक्रम:जिल्लाको निर्वाचनमा उपल्लो भेगमा हुने वारिस भोट लगायतका चुनौती र समस्याहरुको चर्चा!
जिल्ला निर्वाचन कार्यालय, डोल्पाद्वारा २०८२ फागुन ११ गते आयोजित “निर्वाचन र आमसञ्चार विषयक एक दिवसीय जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सञ्चारकर्मीहरूले जिल्लाको चुनावमा देखिन सक्ने चुनौतीको चर्चा भएको थियो । मुख्य गरि उपल्लो भेगमा हुने वारिस मत हाल्ने प्रवृत्ति रोकेर जनताले आफ्नो मताधिकार आफैं प्रयोग गर्न पाउने कुराको ग्यारेन्टीबारे कार्यालयलाई जवाफ माग गरेका थिए।
जवाफमा निर्वाचन कार्यालय देखि सहायक प्रमुख जिल्ला अधिकारी तथाआचारसंहिता अनुगमन अधिकृत रमेश पौडेलले निर्वाचन हरेक जनताले आफ्नो मत आफैं हाल्ने वातावरण बनेको दाबी गरे। सबै कर्मचारीलाई अहिले देखि नै यो विषयमा सजक गराइएको भन्दै सुरक्षा निकाय पनि सोही अनुसार खटन पटन गरिएकोले वारिस प्रवृत्ति रोक्ने ऊनीहरुको भनाइ थियो।
यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश समेत रहेका चन्द्रदेब भारतीकाे भूमिकाप्रति प्रश्न उठाएका हुन्। कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय र सञ्चारकर्मीबीच समन्वय अभाव रहेको बताए। जिल्ला न्यायाधीशको दम्भमा नभई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीअनुसार प्रस्तुत हुनुपर्ने धारणा राख्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारती ले सञ्चारमैत्री व्यवहार अपनाउनुपर्नेमा जोड दिए।
सार्वजनिक मञ्चमा सुशासन, पारदर्शिता र नीतिगत आदर्शको चर्चा गरिए पनि व्यवहारमा त्यसको कार्यान्वयन नदेखिँदा निर्वाचनको समयमा सञ्चारमाध्यम र मुख्य निर्वाचन अधिकृत कार्यालयबीच दूरी बढेको गुनासो उनले पोखे। देश निर्वाचनमय बनिरहेका बेला सूचना प्रवाहमा सक्रियता अपेक्षित भए पनि त्यसो हुन नसकेको आरोप समेत लगाए।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन यस्ता अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुग्ने बताए।
अन्तरक्रियामा स्थानीय सञ्चारकर्मी, सुरक्षा निकायका अधिकारी र सरोकारवाला निकायको सहभागिता रहेको थियो। निर्वाचनका क्रममा देखापर्ने चुनौती, सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना तथा जिम्मेवार पत्रकारिताको आवश्यकताबारे पनि छलफल गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।