काठमाडौं, निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचार–प्रसारमा सहभागी नहुन कडा निर्देशन दिएको छ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न आयोगले यस्तो निर्देशन जारी गरेको हो।
आयोगले विज्ञप्ति जारी गर्दै केही प्राध्यापक र शिक्षकहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा संलग्न रहेको भनी उजुरी प्राप्त भएपछि कानुनी कारबाहीको चेतावनी दिएको छ।शिक्षा ऐन, २०२८ः ऐनको दफा १६ ङ. को उपदफा (५) को खण्ड (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाइने व्यवस्था छ।
आयोगले शिक्षा ऐन र निर्वाचन आचारसंहिताका देहायका प्रावधानहरूबारे सचेत गराउँदै उल्लंघन गर्नेलाई निर्वाचन आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गर्ने जनाएको छ।