काठमाडाैँ, आसन्न निर्वाचन अवधिलाई लक्षित गर्दै खाना पकाउने एलपी ग्यासको आपूर्ति अभाव हुन नदिन नेपाल आयल निगमले आयात परिमाण उल्लेख्य रूपमा वृद्धि गरेको जनाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राख्दै देशव्यापी वितरण प्रणाली सुदृढ बनाउने कदम चालिएको हो।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनमार्फत यस वर्षकै उच्च परिमाणमा ग्यास लोड भई मंगलबार नेपालतर्फ पठाइएको जानकारी दिए। उनका अनुसार सो दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड गरिएको छ, जुन करिब एक लाख ७३ हजार आठ सय घरायसी सिलिन्डरबराबर हुने निगमले जनाएको छ।
निगमको तथ्यांकअनुसार भारतका विभिन्न भण्डारण केन्द्रबाट ग्यास पठाइएको हो। बरौनीबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ तथा हल्दियाबाट दुई बुलेट ग्यास नेपालका लागि डिस्प्याच गरिएको छ।
कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा उपभोक्तालाई ग्यास अभावको समस्या नपरोस् भन्ने लक्ष्यसहित आयात व्यवस्थापन नियमित र प्रभावकारी बनाइएको उल्लेख गरे। उनले आपूर्ति प्रणालीलाई सहज र स्थिर राख्न निगम सतर्क रहेको तथा निर्वाचन अवधिमा पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने विश्वास व्यक्त गरे।