काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीलाई साइजमा ल्याउन तिनका पनि विरोधीलाई च्याप्न थालेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा झण्डै चुनाव हराएका लिलानाथ श्रेष्ठलाई मन्त्री बनाए प्रचण्डलाई चितवनमा चुनावी टक्कर दिने विक्रम पाण्डेलाई पनि ओलीले नजिक बनाइसकेका छन् । पाण्डे विगतमा चितवनबाट चुनाव जित्न सफल भएका थिए । निर्माण व्यवसायी पाण्डेलाई पछिल्लो समय प्रधानमन्त्री ओलीले निकट ल्याएकाछन् । चुनाव भइहाले प्रचण्डविरुद्ध पाण्डेलाई सहयोग गर्ने रणनीति समेत बनाइएको छ ।
भरतपुर महानगरपालिकामा रेनु दाहालसँग मेयरका प्रतिष्पर्धी देवी ज्ञवालीलाई पनि ओलीले अवसर दिएका छन् । मतपत्र च्यातिएपछि पुनः मतगणना हुँदा ज्ञवाली झीनो मतान्तरले दाहालसँग पराजित भएका थिए । यो प्रकरणले निकै चर्चा कमाएको थियो ।
यसैगरी, नेकपा दाहाल-नेपाल पक्षधरका अध्यक्ष माधवकुमार नेपाललाई पनि अप्ठ्यारो पार्न ओलीले रणनीति बनाएका छन् । उनले माधव नेपालको गृहजिल्ला रौतहटमा उनलाई कमजोर पार्न प्रभावशाली नेताहरुलाई नजिक ल्याएका छन् । रौतहटका प्रभावशाली नेता प्रभु साहलाई ओलीले मन्त्री बनाएर आफ्नो साथमा ल्याइसकेका छन् ।विरोधीका विरोधीलाई साथमा लिई अप्ठ्यारोमा पार्ने ओलीको रणनीति खुल्दै गएको छ । उनले खोजी खोजी प्रचण्ड र माधव नेपालका विरोधीलाई अवसर दिन थालेका छन् ।