काठमाडौँ, गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिएका छन् ।
बैतेश्वर गाउँपालिकाका मतदान केन्द्रको स्थलगत निरीक्षणका क्रममा उनले विगतका कमजोरी सच्याउँदै यसपटक शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सुरक्षा निकायलाई सचेत गराउनुभयो। सामाजिक सञ्जालमा फैलाइने गलत र भ्रामक सूचनाबाट सचेत रहन पनि उहाँले आग्रह गरे ।
निरीक्षण टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा तथा प्रशासनका अधिकारी सहभागी थिए। टोलीले निर्वाचन सुरक्षाको तयारीबारे स्थानीय सरोकारवालासँग छलफल गरेको थियो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सबै पक्ष सक्रिय भएर निष्पक्ष र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिए। प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको जानकारी दिए।
बैतेश्वर गाउँपालिकामा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन्। यहाँ १८ हजार ४ सय २२ मतदाता छन्। निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीले मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिएका छन्।