निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण माग गरेको जनाएको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको जानकारी दिइएको छ।
आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण माग गरेको छ। दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको छ।
देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा उजुरीको टुंगो लगाइएको आयोगले जनाएको छ। प्राप्त उजुरीमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट आएका छन्।