काठमाडौं ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाविरुद्ध थप आक्रामक भएका छन् । प्रतिनिधिसभा विघटनमा सभापति देउवाका अभिव्यक्तिले पार्टीको साख गिरेको र कार्यकर्तादेखि जनतासम्म अन्योल छाएको भन्दै आलोचनामा रहेका पौडेल थप आक्रमक बनेका हुन् ।बुधबार केन्द्रीय समितिमै प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा उभिनुपर्ने, संवैधानिक आयोगका नियुक्ति असंवैधानिक भएकाले त्यसको खारेजीका पक्षमा उभिनुपर्ने तथा प्रदेशमा सरकार ढाल्नका लागि कांग्रेसले भूमिका खेल्नुपर्ने प्रस्ताव राखेका पौडेलले देउवामाथि पार्टी र देशको हित नभएर व्यक्तिगत हितका लागि काम गरेको आरोप लगाएका थिए ।
पोखरामा बिहीबार नेपाल मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलनको उद्घाटन समारोहमा पौडेलले देउवाले पार्टी निर्णयविरुद्ध बोल्दा देशलाई घाटा भइरहेको बताए ।“पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई संवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको छ,” पौडेलले भने, “तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य हो,” उनले सभापति देउवाले मनलाग्दी बोलेको भन्दै नेतालाई व्यक्तिगत स्वार्थमा बोल्दै हिँड्ने छुट नहुने बताए ।
“यो पार्टीका नेताहरुले जनतालाई कन्फ्युजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?” पौडेलले प्रश्न गरे । पौडेलले त्यस्तो प्रश्न गर्दा देउवा भने हतारमा रहेको भन्दै केहीबेरअघि नै बोलेर बाहिरिएका थिए । देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनःस्थापना वा चुनाव जे फैसला भए पनि स्वीकार्ने बताएका थिए ।पौडेलले प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको स्वीकार गरिसकेपछि पार्टीले लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्नुपर्ने बताए ।
“अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,” पौडेलले भने, “अनि कांग्रेसले त्यही संविधानअनुसार हुनुपर्छ भनेर किन नभन्ने ?” चुनावको अर्थ संविधान र लोकतन्त्र बच्यो भने मात्र हुने भन्दै पौडेलले भने, “चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो नि ।“

















