काठमाडाैँ बल्खु क्षेत्रमा करिब दुई महिनादेखि कुर्दा पनि ग्यास नपाएपछि हरि ब्लोलले सोमबार टेकुस्थित आयल निगमको अस्थायी ग्यास वितरण डिपोमा बल्ल भरिएको सिलिन्डर किन्न पाए । सोमबार दिउँसो तीन बजे टेकुस्थित निगमले ग्यास वितरण डिपोमा एक थान ‘नेपाल ग्यास’ लिएर आफन्त कुरिरहेको अवस्थामा भेटिएका उनले भने, ‘काँधमा बोकेर लैजान गाह्रो हुने भएकाले आफन्तलाई मोटरसाइकलमा बोलाएको छु । बल्खुको डिलरमा नाम लेखाएर १५–२० दिन कुर्दा पनि ग्यास पाइएन, अनि यहाँ आएर बल्ल पाएँ ।’
सोही समयमा मैतीदेवी बस्दै आएका पुष्प अर्याल पनि एकजना साथीसँग स्कुटरमा आएर दुवैजनाले एक–एक थान ग्यास खरिद गरे । एक थान सिलिन्डरका लागि मैतीदेवीदेखि टेकुसम्म धाउनुपरेकोमा उनीहरूको गुनासो छ । ‘सधैँ ग्यास किनिरहने डिलरले फोन नै उठाउन छाडे । एक थान ग्यास लिन पनि धाउनुपर्ने स्थिति छ,’ उनले भने ।
कुलेश्वरका मोहन भुसाल पनि एक थान ग्यास लिन मोटरसाइकलको पछाडि सिलिन्डर बाँधेर टेकु पुगेका थिए । काउन्टरमा १९ सय १० रुपैयाँ तिरेर उनले भरिएको ग्यास सिलिन्डर पुनः मोटरसाइकलको पछाडि बाँधेर निस्किए । घरमा एभरेस्ट ग्यासको सिलिन्डर पनि पहिले नै खाली भइसकेको उनले बताए । ‘एभरेस्ट ग्यासको सिलिन्डर पनि खाली भइसक्यो । अहिले भर्खर यो पनि रित्तिएकाले चुलोबाट थुतेर ल्याएको हो,’ उनले भने ।
आयल निगमले २८ माघदेखि टेकुस्थित पुरानो कार्यालयमा अस्थायी डिपो राखेर नेपाल, एभरेस्ट र सुगम ग्यास बिक्री थालेकाले अप्ठ्यारोमा परेका उपभोक्ताहरू त्यहाँ पुग्ने गरेका छन् । आपूर्ति सहजताका लागि अस्थायी डिपो खोलेको निगमले मागअनुसार आपूर्ति परिमाण बढाउने र आयातीत ग्यास वितरणको अनुगमन भने गरेको छैन । त्यसैले दुई महिना भइसक्दा पनि बजारमा ग्यास आपूर्ति असहज छ । पछिल्लो समय मध्यपूर्व तनावले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भएको समाचार बाहिरिएपछि टेकु पुगेर ग्यास खरिद गर्ने उपभोक्ताको संख्या झन् बढेको छ ।
निगमले भने सामान्य अवस्थाको भन्दा बढी ग्यास आयात गरेको दाबी गर्दै आपूर्ति सहजताका लागि थप पहल गरेको छैन । निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख रहेका निर्देशक विनीतमणि उपाध्यायले फेब्रुअरीमा ५० हजार तीन सय टन भित्रिएको र मार्चका लागि ५२ हजार टन आयातको बन्दोबस्ती गरेको बताए । ‘सामान्य अवस्थामा ४५ हजारदेखि ४८ हजार टन ग्यास आयात हुने गरेको छ । अहिले आयात परिमाण पनि बढाइएको छ,’ उनले भने ।
बजारमा आपूर्ति सहज नभएर ग्यासको खोजी गर्ने उपभोक्ताको गुनासो यथावत् रहेको उनले बताए । ‘ग्यासको आपूर्ति अझै सुलभ नभएको विषयमा हाम्रो जानकारी पनि छ । आयात बढाएर सहज गर्न लागिरहेका छौँ,’ उनले भने, ‘मध्यपूर्वमा भएको तनावले पनि उपभोक्ता अतालिएर सञ्चय गर्ने प्रवृत्ति बढेको छ । सञ्चय नगर्न हामीले बारम्बार आग्रह गरिरहेका छौँ ।’
टेकुस्थित अस्थायी डिपोबाट हालसम्म नेपाल ग्यासका दुई हजार नौ सय ३२ र एभरेस्ट तथा सगुमका दुई हजार ६ सय ९० थान सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।
काठमाडौंका ग्यास डिलरमा कम आपूर्ति
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले काठमाडौं उपत्यकामा डिलरमा ग्यास नभएको बताए । ‘अधिकांश ब्रान्डका डिलरमा ग्यास छैन,’ उनले भने, ‘अनि कसरी गर्नु आपूर्ति सहज ?’ उनले आपूर्ति सहजताका लागि आयात बढाएको तथ्यांक बाहिरिने गरे पनि मागअनुसार आपूर्ति नभएको बताए । ‘पहिलेको मागलाई देखाएर त्योभन्दा दुई–चार हजार टन बढी आयात गर्दा पूर्ण रूपले आपूर्ति सहज हँुदैन,’ उनले भने, ‘ठूलो परिमाणमा आयात बढाउनुपर्छ । तर, मध्यपूर्वको तनावका कारण ठुलो परिमाणले आयात बढाउन सम्भव देखिँदैन ।’ अहिले आयात भइरहेको ग्यासको वितरण प्रणाली सुधार्नु आवश्यक रहेको उनको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले पनि आयल निगमको व्यवस्थापकीय क्षमतामा सुधारको जरुरी रहेको बताए । ‘दुई महिनादेखि एलपी ग्यासको असहजता हुनु राम्रो सन्देश होइन, तर यसबिचमा निगमले सरोकारवालासँग छलफल र सहकार्य केही गरेको छैन,’ उनले भने, ‘सामाजिक सञ्जालमा आयात बढेको तथ्यांक पोस्ट गरेका भरमा उपभोक्ता आश्वस्त हुने स्थिति छैन ।’
बिक्रीमा कडाइ गर्न र तथ्यांक उपलब्ध गराउन निगमको निर्देशन
ग्यास आपूर्ति असहज भएर आलोचना बढ्न थालेपछि मंगलबार दिउँसो आयल निगम र उद्योगीबिच छलफल भएको छ । छलफलमा डिलरलाई विगतको भन्दा धेरै ग्यास नदिएर कडाइ गर्न निगमले निर्देशन दिएको छ । ‘विगतका महिनामा के–कति परिमाणमा डिलरले ग्यास लैजाने गरेको थियो, सोही परिमाणअनुसार आपूर्ति गर्ने व्यवस्था उद्योगबाट मिलाउनुपर्छ,’ बैठकमा निगम अधिकारीले दिएको निर्देशन उद्धृत गर्दै एक उद्योगीले भने, ‘यसो गर्दा मौज्दातका लागि ग्यास राख्न खोज्ने उपभोक्ताको संख्यामा कमी आउन सक्ने अपेक्षा छ ।’ त्यस्तै, सबै उद्योगबाट बिक्री भएको ग्यासको दैनिक सूची पनि निगमलाई उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै, वाणिज्य विभागले समेत आयल निगमलाई पत्राचार गर्दै ग्यास आयात र बिक्रीको अवस्थाबारे जानकारी गराउन भनेको छ ।
भारतमा २५ दिनपछि मात्रै ग्यास किन्ने पालो, मूल्य पनि बढ्यो
अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वमा पारेको असरले भारतको घरेलु ग्यास बजार प्रभावित भएको छ । महाराष्ट्रका कतिपय ग्यास डिलरमा उपभोक्ताको लामो लाइनसमेत बढेको छ । ग्यासमा करिब ९० प्रतिशत आयातमा निर्भर भारतले ग्यास भरिएका सिलिन्डरको अनावश्यक मौज्दात रोक्न घरेलु उपभोक्ताका लागि नयाँ नियम जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एक सिलिन्डर ग्यास खरिद गरेपछि अर्को किन्न २५ दिन कुर्नुपर्ने नयाँ नियम लगाइएको हो । यसअघि यस्तो नियम २१ दिनका लागि निर्धारण गरिएको थियो । तर, मध्यपूर्व तनावका कारण भारतीय उपभोक्ताले धेरै ग्यास सिलिन्डरको माग गर्न थालेपछि आपूर्ति सहजताका लागि सरकारले नयाँ नियम लागू गरेको हो ।
त्यस्तै, इन्डियन आयल कर्पोरेसनले गत शनिबारबाट लागू हुने गरी १४ किलोग्राम तौलको घरेलु ग्यासको मूल्य ६० भारु र १९ किलोग्राम तौलको व्यावसायिक ग्यासको मूल्य ११५ भारु बढाएको छ ।आजकाे नयाँ पत्रिका दैनिकमा खवर छ ।