काठमाडौँ, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संसदीय पदको राजनीतिबाट टाढा रहने तर सक्रिय राजनीतिबाट बाहिर नजाने स्पष्ट पारेका छन्।
आफू सिद्धान्त र एजेण्डालाई अगाडि बढाउँदै जनताको सेवामा निरन्तर सक्रिय रहनेसमेत उनले जनाएका छन्।राउतले अब पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयार पार्ने काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनकाअनुसार उनी जनताबीचमै रहेर अधिकार र पहिचानको आन्दोलनमा सक्रिय रहनेछन्।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको जनमत पार्टी त्यतिबेला राष्ट्रिय दल बन्न सफल भएको थियो। सो निर्वाचनमा राउत आफैं प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकतर्फ पनि पार्टीले पाँच सिट प्राप्त गरेको थियो।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा भने जनमत पार्टीले कुनै सिट जित्न सकेन। सप्तरी–२ बाट चुनाव लडेका राउत रामजी यादव सँग पराजित भएका थिए।प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्न सकेन।