काठमाडौँ,नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका हुन्।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेविपरीत नतिजा ल्याएपछि, त्यसको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्।
निर्वाचनमा व्यहोर्नुपरेको अप्रत्याशित पराजयले पार्टीभित्र बहस सिर्जना गरिरहेका बेला थापाको यो कदम सार्वजनिक भएको छ।यद्यपि, कांग्रेसले आधिकारिक रूपमा यस राजीनामालाई अहिलेसम्म सार्वजनिक गरेको छैन। कांग्रेस उच्च स्रोतका अनुसार, सभापतिले राजीनामा दिए पनि आगामी केन्द्रीय समितिको बैठकले त्यसलाई अस्वीकार गर्ने र उनलाई नै नेतृत्वमा निरन्तरता दिने आन्तरिक तयारी भइरहेको बुझिएको छ।
तर केन्द्रीय समितिको बैठकले राजीनामा स्वीकृत गरेको सन्दर्भमा उनी सबभन्दा छोटो समयका लागि पार्टी सभापति पदमा रहेका ठहरिने छन्।गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमार्फत थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो।
उक्त महाधिवेशनको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ।