आधा परिमाण ७.१ किलोग्राम ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको एक साता बित्दा पनि बजारमा आपूर्ति सहज हुन सकेको छैन । आधा ग्यास मात्रै बजारमा आपूर्ति गर्दा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी सिलिन्डर बजार पुग्ने भएकाले आपूर्ति सहज हुने आयल निगमको बुझाइ थियो । तर, सातादेखि ग्यास आपूर्ति असहजताको स्थिति ज्युँका त्युँ छ ।
आयल निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनितमणि उपाध्यायले आयातमा कुनै समस्या नभए पनि आपूर्ति सहजता गर्न कठिनाइ झेल्नुपरेको स्वीकार गरे । ‘मध्यपूर्वको विषम परिस्थितिका कारण भारतले नै घरेलु उपभोक्तालाई पर्याप्त ग्यास पु¥याउन कठिनाइ भोगिरहेको छ, तर नेपालमा पठाउने परिमाणमा कुनै कटौती भएको छैन,’ उनले भने, ‘हामीले सामान्य अवस्थाकै परिमाण आयात गरिरहँदा पनि माग धान्न नसक्नु अचम्म भएको छ ।’ एक सातादेखि आधा ग्यास भरिएको सिलिन्डर मात्रै बजारमा पठाउने निर्णय लागू भएकाले दोब्बर परिमाण वितरण भइरहेको उनले बताए ।
‘नियमित परिमाण ल्याएर दोब्बर संख्यामा ग्यास भरिएका सिलिन्डर बजार पठाउँदा चाँडै आपूर्ति सहज हुने बुझाइ थियो, तर अहिलेसम्म समस्या सुल्झिएको छैन,’ उनले भने, ‘यद्यपि, विगतको तुलनामा केही सहज हुन थालेको महसुस गरेका छौँ ।’ निगमले सञ्चालन गरेको कल सेन्टरमा पनि बिस्तारै ग्यास सोधखोज गर्दै फोन गर्नेको संख्या घट्न थालेको उनले बताए । आपूर्ति सहजताका लागि निगमले टेकुस्थित पुरानो कार्यालयबाट एचपी, श्रीराम, राजधानी, त्रिवेणी, एभरेष्ट, सुगम र नेपाल ग्यासका सिलिन्डर बिक्रीलाई निरन्तरता दिइरहेको उनले बताए ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले घरमा रहेका सबै खाली सिलिन्डर भरेर राख्ने प्रवृत्तिले गर्दा असहज भइरहेको बताए । ‘आवश्यकभन्दा बढी ग्यास घरमा मौज्दात गरेर राख्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै पनि उपभोक्ताहरू रित्तो सिलिन्डर भर्नतिर लागिरहेका छन्,’ उनले भने, ‘त्यसैले पनि आपूर्तिमा सहजता ल्याउन समय लागिरहेको छ ।’
वीरगन्ज र विराटनगरबाट नियमित आयात
एलपी ग्यास आयात हुने दुई प्रमुख नाका वीरगन्ज र विराटनगरबाट पनि नियमित परिमाणमा ग्यास भित्रिरहेको छ । वीरगन्ज भन्सारबाट दैनिक ३० बुलेटभन्दा बढी ग्यास आयात हुने गरेको छ । फागुन अन्तिम साता पनि सोही परिमाणमा आयात भएको भन्सारको तथ्यांक छ । २८ फागुनमा ३९ बुलेट, २९ फागुनमा ५४ बुलेट र ३० फागुनमा ३८ बुलेट ग्यास आयात भएको भन्सारको तथ्यांक छ ।
विराटनगर भन्सारबाट पनि नियमित परिमाणमा ग्यास भित्रिरहेको छ । प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार विराटनगरबाट २८ फागुनदेखि ३० फागुनसम्मको तीन दिनमा सात लाख केजी ग्यास आयात भइसकेको छ । चैत लागेयता पनि नियमित परिमाणमा ग्यास आउने क्रम जारी रहेको छ । ‘पहिले र अहिलेको आयात विश्लेषण गरिरहेका छौँ । यसमा खासै भिन्नता छैन’ उनले भने, ‘पहिलेभन्दा बढी नै ग्यास आयात भइरहेको छ । विराटनगर भन्सार नाकाबाट फागुनमा ७० लाख ६२ हजार ६ सय ५ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । माघमा भने ५९ लाख ९८ हजार ८ सय २२ किलो ग्यास भित्रिएको थियो । आयाल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका सूचना अधिकारी भीम विश्वकर्माले ग्यास आयातका लागि विभिन्न उद्योगलाई वितरण गर्ने कोटामा कुनै कमी नआएको जानकारी दिए । बिगतकै परिमाणअनुसार अहिले पनि ग्यास कम्पनीले पिडिओ लिएर भारतबाट आयात गरिरहेको उनले बताए । निगमको कञ्चनबारीस्थित कार्यालयबाट सुविधा, कोशी, रिजाल, सुगम र प्रिमियर ग्यास उद्योगले भारतबाट आयातका लागि पिडिओ लिँदै आएका छन् ।
सुदूरपश्चिममा आयात उस्तै, तर पनि खोजेका वेला पाइँदैन
सुदूरपश्चिममा सामान्य अवस्थाकै दरमा भारतबाट ग्यास आयात भइरहेको छ, तर बजारमा मागअनुसार आपूर्ति हुन सकेको छैन । अभाव हुन सक्ने डरले उपभोक्ताले मौज्दात राख्न थाल्दा कतिपय ठाउँमा आपूर्तिमा समस्या देखिन थालेको आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मनोहर डिसीले जानकारी दिए । ‘दुई दिनदेखि अनुगमन गरिरहेका छाँै, कुनै–कुनै ठाउँबाहेक अभाव छैन,’ उनले भने, ‘उपभोक्ताले स्टकका लागि खाली सिलिन्डर पनि भर्न थालेकाले समस्या देखिएको हो ।’
सुदूरपश्चिममा रोयल मल्टिलुक र सैपाल ग्यास उद्योगले भारतको मथुराबाट आयात गरेर यो क्षेत्रमा वितरण गर्दै आएका छन् । इन्डियन आयल कर्पोरेसनको मथुराबाट हुने आयातको कोटामा कुनै कटौती नभएको निगमले जनाएको छ । कैलाली भन्सार कार्यालयको तथ्यांकले पनि एक महिनाअघि र अहिले भारतबाट दैनिक रूपमा आयात हुने ग्यासको परिणाम उस्तै रहेको देखाउँछ । कार्यालयको तथ्यांकअनुसार त्रिनगर नाका भएर गत आइतबार ७४ हजार ३ सय ३९ किलोग्राम र बुधबार एक लाख ३४ हजार ९८० किलोग्राम ग्यास आयात भएको छ ।
गत माघमा पनि सोही परिमाण हाराहारी दैनिक आयात भएको अवस्था छ । २६ माघमा ९६ हजार ६३० किलोग्राम र १८ माघमा ९४ हजार १९० किलोग्राम ग्यास आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।
ग्यासको माग बढेको अवस्थामा अभाव सिर्जना गरी कालोबजारी नहोस् भनेर अनुगमन गर्न लागेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले ग्यास स्टक राखेर अभाव सिर्जना हुन नदिन डिलरहरूको अनुगमन गरिने बताइन् ।आजकाे नयाँ पत्रिका दैनिकमा खवर छ।