काठमाडौँ, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ।
सोमबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
यसअघि न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चार दिनसम्म रिटमाथि निरन्तर सुनुवाइ गरेपछि मुद्दा फिर्ता लिने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।